GIF TIGER CUP

किन जोगाउने अभिलेख ?

पोखरा । नेपालमा प्राचीन अभिलेख र ग्रन्थको संरक्षणको काम गर्ने सरकारी संयन्त्र राष्ट्रिय अभिलेखालय छ । त्यसबाहेक पनि व्यक्तिगत हिसाबले पुराना ग्रन्थ, तस्वीर, भिडियो संकलन गर्नेहरू छन् । तर, अभिलेख किन संकलन र संरक्षण गर्ने ? पोखराको फेवाताल किनारमा शनिबार यही विषयमा संवाद भयो ।

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘किन जोगाउने अभिलेख ?’ सत्रमा अर्काइभल साइन्स अध्यापक दीपक अर्यालसँगको संवादमा इतिहासकार दिनेशराज पन्तले विगतबारे थाहा पाउन र भविष्यमा अध्ययन गर्न चाहनेका लागि इतिहास जोगाउनुपर्ने बताए । मूल सामग्री संरक्षण गरेर राख्न मात्र सके भविष्यमा त्यसबारे खोजी गर्न सहज हुने उनको भनाइ थियो । ‘इतिहासका मूल सामग्री खोज्नेतिर, शिक्षा आर्जन गर्नेतिर प्राचीन लिपी र प्राचिन भाषा खोज्नेतिर नयाँ पुस्ताको ध्यान जानुपर्छ र उहाँहरू त्यो काम गर्न सक्षम हुनुहुन्छ भन्ने आशा छ,’ उनले भने ।

विगतमा राम्रो स्रोत साधन भएको भए इतिहास संग्रह थप बलियो बन्न सक्ने तर त्यसको पर्याप्तता नभएको उनले सुनाए । इतिहास लेखन वा संग्रह गर्न स्रोतको कमी हुने भएकाले कहिलेकाहीँ समय लाग्ने पन्तको भनाइ थियो ।

GIF TIGER CUP

राणा शासन अघिसम्मको इतिहासबारे खोजी नभएको र त्यसपछि पनि मूल सामग्रीसम्मको पहुँच निकै कम रहेको पन्तले बताए । प्राचीन सामग्री संकलनमा संघ सरकार एक्लैले सम्भव नहुने भएकाले स्थानीय सरकार र जनताको सहयोग चाहिने उनको भनाइ थियो । ‘राणा शासनसम्म खोजी भएन । त्यसपछि जुन किसिमले मूल सामग्रीसम्म पुगेर धेरै नै कमी भएको छ,’ इतिहासकार पन्तले थपे, ‘प्राचीन सामग्री संकलन सरकारले सकेको छैन । सरकारले मात्र सक्ने कुरा होइन । जनता र स्थानीय सरकार पनि लाग्नुप¥यो ।’

पुराना तस्वीर संकलक सुनील उलकले नेपालमा इतिहासबारे जानकारी दिने सामग्रीको सरकारी संयन्त्रमा सुरक्षा नै नहुने गरेको भन्दै दुःख प्रकट गरे । विदेशमा विश्वविद्यालयले नै अर्काइभ राख्ने गरेपनि नेपालमा अर्काइभको महत्व नै नबुझिएको उनले जिकिर गरे । ‘विदेशमा हो भने प्रत्येक विश्वविद्यालयले अर्काइभ राख्छ । कसैले दिए विश्वविद्यालयले सुरिक्षत गर्दिन्छ । हाम्रोमा अर्काइभ भन्ने नबुझेको हो जस्तो लाग्छ,’ उलकले थपे, ‘हाम्रोमा सेतो र रातो कपडाले पोको पारेर राख्यो, मुसाले खाएको थाहा हुँदैन । बुझ्दैन र सम्हालेर कसरी राख्ने पनि थाहा छैन ।’

पुराना तस्वीर र भिडियो व्यवस्थित गरेर राख्न निकै चुनौती रहेको उनले सुनाए । ‘नयाँ जसले गर्न खोज्छ उसलाई सुझाव दिन पनि गाह्रो भइसक्यो । किनकि जोगाउन एकदम गाह्रो छ । ढुसी र चिसोपना, मुसा र किरा फट्याङ्ग्राबाट जोगाउन पर्‍यो,’ उलकले भने ।

आफ्ना संकलनको उपयोगिता कसरी हुन्छ भन्ने विषय थाहा नपाई हस्तान्तरण गर्न असहज हुने उलकले सुनाए । भोलि त्यसको प्रयोग कसरी हुन्छ भन्ने चिन्ता रहने गरेको उनले बताए । ‘मसँग अभिलेखालयले डिजिटल कपी दिनुस् भनेर माग्नुभयो । प्रयोजन के हो ? ५० वर्षदेखि जोगाएका चिज बिना कारण हस्तान्तरण गर्ने कि नगर्ने ? उपयोगिता कसरी गर्छ ? बाँड्दै हिँड्ने हो कि राम्रो काममा मात्र प्रयोग हुने हो कि !’ उनले भने ।

उनले इतिहासका विषयवस्तु संकलन गर्नु पागलपन भएको टिप्पणी गरे । इतिहास बुझ्न चाहनेलाई आफूले फोटो र भिडियो दिने गरेको उलकले सुनाए । ‘पुरानो इतिहास नयाँ पिँढीले थाहा पाउनुपर्छ । इतिहास जमिन या धरातल हो । इतिहासको नजिक आउन खोज्छ र बुझ्न खोज्छ भने बुझ्न दिनुपर्छ,’ उनले भने । आफूसँग डिजिटलमा परिवर्तन गरेका पुराना तस्वीर एक लाखभन्दा बढी र नेगेटिभ ३० हजार आसपास रहेको उलकले जानकारी दिए ।

इतिहासकार सुरभी पुडासैनीले इतिहासका वस्तु सुरक्षित राख्नुपर्ने र त्यसबारे सर्वसाधारणलाई पनि थाहा हुनुपर्ने बताइन् । इतिहासमा धेरैको चासो रहने भएकाले इतिहासकारले तथ्यमा बसेर इतिहासको खोजी गरिराख्नुपर्ने उनले बताइन् । ‘इतिहासमा धेरै चासो छ जस्तो लाग्छ । मान्छेको धेरै चासो छ । किताब बिक्री हुन्छ । तर, हामीले इतिहासको बारेमा कुरा गर्दा एक मार्गमात्र कुरा गर्छौं । राजनीतिक इतिहासको कुरा धेरै हुन्छ,’ उनले भनिन् ।

Leave A Reply

Your email address will not be published.