सुचना१
newa srijana

अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा पोखरा–१ मिरुवास्थित मुख्य कार्यालयमा शनिबार सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले गरे।

सहकारीहरूको ऐन–नियम अनुसार सञ्चालन हुनुपर्नेमा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीकी उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले जोड दिइन्।

अध्यक्ष पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारीले बजारको संवेदनशीलता, शेयर सदस्यको हित र राज्यका नीतिअनुरूप जोखिम न्यूनीकरणलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनका अनुसार समुदायमा आधारित सहकारीले विषम आर्थिक अवस्थामासमेत सुदृढ वित्तीय स्थिति कायम राख्न सफल भएको छ। हाल सहकारीमा १,६७१ जना शेयर सदस्य आवद्ध छन् र मुख्य कार्यालयसहित एक शाखाबाट सेवा दिइँदै आएको छ।

वि.सं. २०६८ सालमा स्थापना भएको सहकारीले आर्थिक तथा सामाजिक रूपान्तरणका गतिविधिलाई निरन्तरता दिँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा अनुत्पादक खर्च घटाउने र खराब कर्जा न्यूनीकरणमा जोड दिएको सचिव बाबुराम भण्डारीले बताए। उनका अनुसार गत वर्ष सहकारीले सहकारी अवलोकन भ्रमण, कानुनी साक्षरता, सहकारी शिक्षा र क्षमता विकासका कार्यक्रम सञ्चालन गरेको थियो।

कोषाध्यक्ष सरिता सुवेदी भण्डारीले आर्थिक विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ सम्म सहकारीको शेयर पुँजी ३ करोड ६० लाख २४ हजार, बचत संकलन ७ करोड ८६ लाख ६९ हजार ७०२ र ऋण लगानी ८ करोड ९३ लाख ६८ हजार ७९१ पुगेको बताइन्।

लेखा सुपरिवेक्षण समितिका संयोजक जनकराज पौडेलले प्रतिवेदनमार्फत एउटै परिवारका एक जनालाई मात्र ऋण दिने भाखा नाघेका ऋण असुलीका लागि कानुनी प्रक्रिया अघि बढाउने र समितिको सुझाव पालना गर्न सिफारिस गरे।

कार्यक्रममा सहकारी अभियन्ता पुन्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका संस्थापक अध्यक्ष युवराज कुँवर, ढिकुरपोखरी समाज पोखराकी अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहकार लालबहादुर कुँवर र पूर्व सल्लाहकार टंकराज अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

Sadak 1
पुल सेन्टर