पोखरा । सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ ।
महायज्ञमा कुल २ करोड ८८ लाख रूपैयाँभन्दा बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा बुधबारमात्रै ८० लाख बढी दान थपिएको हो । योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञमार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिब पुरा भएको छ ।
बुधबार महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन भएको छ । महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने बताए ।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको बताए ।
कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतमसहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो ।
महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङसमेतबाट गरी करिब १ लाख ६० हजार भक्तजनले सहभागिता जनाएको महायज्ञका महासचिव शम्सेरबहादुर थापाले दाबी गरे । यीमध्ये करिब ६० प्रतिशत अन्नपूर्ण केवलबारमार्फत तथा अन्य महायज्ञका निःशुल्क बस एवम् स्वतस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
यहि फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।