पोखरा । पोखरामा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ ।
सहिद सप्ताहको अवसर पारेर नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको हो । पोखरा महानगरपालिकालगयत विभिन्न ठाउँबाट पोखरा आएर बसोबास गरिरहेका ४२ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरीएको हो ।
कार्यक्रममा पोखरा महानगरबाट सहिद भएका परिवार तथा बेपत्ताका परिवारहरूलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, विशेष अतिथि, लेखा समिति सदस्य झलकपाणी तिवारी, केन्द्रीय सदस्य राजकाजी गुरुङलगायतले परिवारका सदस्यलाई सम्मान गरेका थिए ।
प्रमुख अतिथि अधिकारीले सहिदहरूको योगदानले आजको लोकतान्त्रिक गणतन्त्र सम्भव भएको उल्लेख गरे । ‘सहिदको सपना पूरा गर्न समाजवादको आधार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुपर्छ । यो सम्मान कार्यक्रम केवल औपचारिकता होइन, यो बलिदानप्रति हाम्रो नमन र संकल्पको प्रतिक ह,’ उनले भने ।
सहिद परिवारको तर्फबाट बोल्दै अनिता भुर्तेलले सहिद परीवारलाई वर्षमा एकपटक मात्रै हैन पार्टी नै परिवार बन्नुपर्ने भनाइ राखेकी थिइन् । सहिदका सपना साकार पार्न सरकार र पार्टी नेतृत्वले अझ जिम्मेवार बन्नुपर्ने उनले बताइन् ।
महानगर कमिटी अध्यक्ष विज्ञान गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महानगर कमिटीका सचिव जनक पराजुलीले गरेका थिए ।