पोखरा । एक महिना पोखरा बसेर आइतबार काठमाडौं फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।
राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन् ।

विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहले त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन गरेका थिए ।
स्वागतका लागि पुगेकाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी पनि गरेका थिए ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै जनताको साथ खोजेका थिए । राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए।
उक्त वक्तव्य दिएपछि पूर्वराजा शाह पहिलोपटक काठमाडौं आउँदा राप्रपा, राप्रपा नेपाल लगायतले स्वागत गरेका हुन् । राप्रपाका नेताहरू त पूर्वनिर्धारित आमसभा पनि स्थगित गरेर पूर्वराजाको स्वागतमा गएका हुन् ।
माघ २७ गते पोखरा आएका शाहले पोखरा बसाइँका क्रममा विभिन्न शक्तिपीठहरूको दर्शन समेत गरेका थिए । शाहले विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए फागुन २२ गते उनले पोखराको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको सालिक अनावरण गरेका थिए ।