पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा बुधबारदेखि सुरु हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंसिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
फेवा मल्टिप्रोडक्टको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको खेल तालिका आयोजक क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो। प्रतियोगिताको पहिलो खेल बिहान ९ बजे गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
दोस्रो खेल बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबबीच हुनेछ। दिउँसो २ बजे उद्घाटन खेलमा आयोजक युनाइटेड किङ्स क्लब र कोसी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले गर्ने कार्यक्रम छ।
राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पुरस्कार पाउनेछ। उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताका सबै खेल हेर्न सिजनल प्रवेश शुल्क दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ। एक खेलका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगिताका लागि एजुकेसन पार्टनरका रूपमा फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सी र मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेजसँग सहकार्य गरिएको छ। ब्रोडकास्टिङ पार्टनरका रूपमा पब्लिक फोरके टेलिभिजन रहेको छ। प्रतियोगिता सञ्चालन गर्न करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।




