पोखरा महानगरका नगरप्रहरीलाई `वाकिटकी´

पोखरा महानगरका नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि `वाकिटकी´

पोखरा । पोखरा महानगरपालिकाले नगरप्रहरीको सुरक्षासम्बन्धी कार्य र सञ्चार प्रणालीलाई थप प्रभावकारी बनाउन वाकिटकी प्रदान गरेको छ। हाललाई १० थान जीएसएम नेटवर्कमा आधारित पीओसी वाकिटकी वितरण गरिएको महानगरले जनाएको छ।

महानगरले आह्वान गरेको बोलपत्र प्रक्रियामार्फत आइटेल नेटवर्क प्रालिले वाकिटकी उपलब्ध गराएको हो। वाकिटकीको उपलब्धतापछि नगरप्रहरीको दैनिक कार्य सञ्चालन थप सहज र व्यवस्थित बनेको नगरप्रहरी प्रमुख पुरुषोत्तम थापा मगरले बताए।

“हाम्रो अधिकांश काम फिल्डमै हुन्छ । पहिले मोबाइल र अन्य साधनको भर पर्नुपर्थ्यो । केही दिनअघि वाकिटकी प्राप्त भएपछि निर्देशन आदानप्रदान र सञ्चार व्यवस्थापन सजिलो भएको छ,” उनले भने।

उनका अनुसार नेपाल टेलिकमको नेटवर्क प्रयोग हुने भएकाले दूरीका हिसाबले पनि समस्या नआएको र सुरक्षा व्यवस्थापनमा थप सहजता आएको छ।

पीओसी वाकिटकीमा मुख्य कार्यालयमा राखिने कन्टेल सफ्टवेयरमार्फत सामूहिक तथा व्यक्तिगत कुराकानी, कुराकानी रेकर्ड राख्न सकिने, जीपीएस लोकेसन ट्रयाकिङ र केन्द्रबाटै नियन्त्रण गर्न सकिने व्यवस्था रहेको छ।

उक्त वाकिटकी एबेल ब्राण्डको हो, जसको आधिकारिक बिक्री वितरण डिकेड इन्टरनेशनलले गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल प्रमाणपत्र प्राप्त यस उपकरणमा नेपाल टेलिकम र एनसेलको आईओटी सिम प्रयोग गरी सञ्चार सेवा प्रदान गरिन्छ। साथै प्रत्येक आईएमईआई नम्बर पनि प्राधिकरणबाट प्रमाणित गरिने आइटेल नेटवर्कका निर्देशक बिनु भण्डारीले जानकारी दिइन्।

Leave A Reply

Your email address will not be published.