कोटि होम १

फिर्के खोला पुल निर्माणको ठेक्का तोडियो

निर्माणमा ढिलासुस्ती र गैरजिम्मेवारीका कारण सडक विभागको कडा कारबाही, अब नयाँ ठेक्का प्रक्रिया सुरु हुने

पोखरा —पोखर बाग्लुङ राजमार्गकेा पोखरा महानगर पालिका वडा नं. ४ र ५ जोड्ने फिर्के खोलाकेा पुल निर्माण कार्यमा ठेकेदारको लापरवाहीका कारण ठेक्का सम्झौता तोडिएको छ। सडक डिभिजन कार्यालय, पोखराले पटक–पटक म्याद थप्दा पनि निर्माण कार्यमा उल्लेख्य प्रगति नदेखिएको भन्दै शान्ति–आरोग्य जेभी, सानेपा ललितपुरसँगको ठेक्का सम्झौता औपचारिक रूपमा अन्त्य गरेको हो।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(८) तथा ठेक्का सम्झौताको प्रावधानअनुसार निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ। कम्पनीले कार्य सम्पादन, पेश्की जमानत तथा धरौटी रकम गुमाउनुका साथै बाँकी कार्यको लागत, त्रुटि सच्याउने खर्च, संरचना संरक्षण र पुनर्निर्माण, पेश्की रकमको १० प्रतिशत ब्याजसहित अन्य खर्च सरकारसँग तिर्नुपर्नेछ।

भूपी शेरचन (पोखरा–बागलुङ) राजमार्गअन्तर्गत जिरो किलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको ६ लेनको नमूना सडक निर्माणपछि सन् २०७५ मा फिर्के खोलामा अत्याधुनिक ‘एक्स्ट्रा डोज ब्रिज’ बनाउने योजना अघि सारिएको थियो। यू-आकारको पिलरसहितको पुल निर्माणका लागि शान्ति–आरोग्य जेभीलाई १७ करोड १० लाख १० हजारको ठेक्का दिइएको थियो। निर्माण ३० महिनाभित्र, अर्थात् २०७७ चैत ३० सम्म सम्पन्न हुने लक्ष्य थियो। तर, पाँच वर्ष बित्दासमेत पुलका दुई पिलरबाहेक अन्य काम सम्पन्न हुन सकेन।

सुरुआतमा मुआब्जा व्यवस्थापन नभएकै कारण निर्माणमा अवरोध भएको थियो। त्यसपछि कोभिड महामारी, स्थानीय अवरोध र पेटी ठेकेदारमार्फत काम गर्ने बहानामा शान्ति–आरोग्य जेभीले कार्यमा गम्भीरता नदेखाएको सडक डिभिजन कार्यालयको भनाइ छ। कम्पनीले १ करोड ९० लाख रूपैयाँ पेश्की लिए पनि काम अघि नबढाएको भन्दै तीनपटक म्याद थप गरिएको थियो—२०७८ असार २३, २०८० असार २७ र अन्तिम म्याद २०८१ असार २० सम्म।

Nawa Srijana

सडक डिभिजन कार्यालय पोखराका योजना प्रमुख नवराज बास्तोलाले ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न नगरेको, प्रतिबद्धता र तदारुकता नदेखाएको र सम्पर्कमै नरहेको कारण ठेक्का सम्झौता तोडिएको जानकारी दिए। “पटक–पटक म्याद थप्दा पनि काम भएन, गत मंसिरदेखि नै सम्झौता तोड्ने प्रक्रियामा थियौं,” उनले भने।

डिभिजन कार्यालयले सम्झौता तोड्ने तयारी गर्दा कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेपछि कानुनी प्रक्रिया थप जटिल भएको थियो। तर, अन्ततः कार्यालयले सम्झौता तोड्दै कानुनी र आर्थिक कारबाही अघि बढाएको हो।

फिर्के खोलाको हालको साँघुरो पुल वर्षौंदेखि दुर्घटनाको hotspot बन्दै आएको छ। फराकिलो ६ लेन सडक पार गरेपछि साँघुरो पुलमा प्रवेश गर्दा सवारी साधन सन्तुलन गुमाएर खोलामा खस्ने घटना बारम्बार दोहोरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका अनुसार पछिल्लो सात वर्षमा यहाँ दर्जनौं दुर्घटना भइसकेका छन्। म्याग्दीका तिलकबहादुर थापा, कास्कीका ऋषिकेश पहारी लगायतले यही ठाउँमा ज्यान गुमाएका थिए। बेलायती दूतावासका गाडीसमेत दुर्घटनामा परेको तथ्यांक छ।

डिभिजन कार्यालयले अब नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ। हालसम्मको निर्माण कार्यको मूल्यांकनका लागि आगामी ८ देखि १५ दिनभित्र सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय तथा निर्माण व्यवसायीको रोहबरमा नापजाँच गरिनेछ। कुनै पक्ष अनुपस्थित भएमा डिभिजनका प्राविधिकले फोटोसहित नापजाँच गर्ने सूचनामा उल्लेख छ।

सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलका अनुसार मुआब्जा समस्या समाधान भइसकेको छ र अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि नयाँ ठेक्का प्रक्रिया छिट्टै अघि बढ्नेछ। “अहिलेको ढिलाइ ठेकेदारको लापरवाहीकै कारण हो,” उनले भने, “अब समयमै गुणस्तरीय निर्माण हुने अपेक्षा छ।”

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.