पोखरा । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले पोखरा पर्यटन परिषद्ले यस वर्ष पनि दोस्रो संस्करणको दाइँ महोत्सव आयोजना गर्न लागेको हो ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका–१९ पुरुन्चौरको चुरुंगामा शनिबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दाइँ महोत्सव गर्न लागिएको आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । एकदिने महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण लगायत गतिविधी आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।
दाइँ बारे नयाँ पुस्ता र विदेशी पर्यटकलाई परम्परागत रुपमा दाइँ हालेको प्रक्रिया खेतमै नजिकबाट देखाउने व्यवस्था गरिने आयोजकले बताएको छ । हरेक वर्ष असारमा रोपाइँ महोत्सव गर्दै आएको पोखरा पर्यटन परिषदले गत वर्ष देखि दाइँ महोत्सव समेत शुरु गरेको छ । रोपाइँ महोत्सवमा सहभागि विदेशी पर्यटकले धान उत्पादनको जिज्ञासा राख्ने गरेको भन्दै महोत्सवबाट उक्त प्रक्रियाबारे बुझाउन खोजिएको कार्यक्रम संयोजक हरि भुजेलले बताउनुभयो ।
पोखराको बढ्दो सहरीकरण र स्थानीयको बदलिँदो जीवनशैलीले यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्न स्थापित हुने अपेक्षा राखिएको छ । महोत्सवको स्थानीय तथा विदेशी गरी करिब आठ सय दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।





