पोखरा । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विनाशकारी गोरखा भूकम्पको १०औँ वार्षिकीको अवसरमा “भूकम्प सिकाइ प्रदर्शनी २०८२” आयोजना गर्दै भूकम्पीय जोखिम न्यूनीकरणमा जनचेतना फैलाउने महत्वपूर्ण प्रयास गरेको छ।
वि.सं. २०७२ सालको वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मृतिमा आयोजित एकदिने प्रदर्शनीले भूकम्पप्रति जनमानसमा चेतना अभिवृद्धि गर्दै सुरक्षित संरचना र वैज्ञानिक सोचको पक्षमा बलियो सन्देश प्रवाह गरकेाे आयाेजककाे विश्वास छ।
विज्ञहरूले पश्चिम नेपालमा ८ म्याग्निच्युडभन्दा ठुलो भूकम्पको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरिरहेका बेला प्रदर्शनीले वैज्ञानिक दृष्टिकोण, तयारी, र सजगता अपनाउने उपायहरूलाई रोचक ढंगमा प्रस्तुत गरेका थिए।
प्रदर्शनीमा “भूकम्पको भविष्यवाणी किन सम्भव छैन?”, “म्याग्निच्युड र तीव्रताको भिन्नता”, “उचाइका भवनमा भूकम्पको असर”, “तरलीकरण प्रक्रिया”, “P र S तरंगको प्रभाव”, “सिस्मोमिटरको भूमिका”, र “भूकम्प पूर्व, बेला र पछिका व्यवहार” लगायतका विषयमा सूचनात्मक सामग्री समावेश थिए।
सहभागी विद्यार्थी र सर्वसाधारणका लागि “भूकम्प खेल”, “सुरक्षित अभ्यास” तथा “झटपट झोला (Go Bag)”बारे व्यावहारिक जानकारी पनि प्रदान गरियो। सचेतनामूलक भिडियो सामग्री प्रदर्शन, हाजिरी जवाफ प्रतियोगिता, र चित्रकला प्रतियोगिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। यी प्रतिस्पर्धामा उत्कृष्ट तीन जनालाई प्रमाणपत्र, पुरस्कार, र नगद राशिले सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै नास्टका वरिष्ठ भूकम्पविद् डा. शिव सुवेदीले भविष्यमा भूकम्पको जोखिमबाट बच्न सहयोग पुर्याउने कार्यक्रममा जाेड दिने बताए । ‘यो प्रदर्शनी सचेतनाको दिशामा हाम्रो महत्वपूर्ण प्रयास हो।’ उनले भने ।
नास्ट प्रविधि संकाय प्रमुख डा. सुरेश कुमार ढुंगेलले बलियो संरचनाको महत्त्वमा जोड दिए । उनले भने-‘भूकम्प आफैँले होइन, कमजोर संरचनाले क्षति पुर्याउँछ। वैज्ञानिक चेतना, संरचनागत मजबुती र जनचेतना नै क्षति न्यूनीकरणका मुख्य उपाय हुन्।’
पोखरा महानगरपालिका शिक्षा शाखाको सहकार्यमा सम्पन्न कार्यक्रममा करिब ३,००० देखि ५,००० विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूले भूकम्पको विज्ञान, सुरक्षित अभ्यास, र तयारीका उपायबारे व्यवहारिक ज्ञान प्राप्त गर्ने अवसर पाए ।
नास्टको यो पहलले भूकम्पीय सचेतनाको सन्देश जनसमुदायसम्म पुर्याउँदै, सुरक्षित नेपाल निर्माणतर्फको सामूहिक प्रयासलाई थप बल पुर्याएको छ।
कार्यक्रममा नेपालसँगै स्विट्जरल्यान्ड, बेलायत, सिंगापुरका ख्यातिप्राप्त भूकम्पविद्हरूको समेत उपस्थिति थियो।
