पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको ४५ दिने डिजिटल प्रविधि तालिम बिहीबार सम्पन्न भएको छ। तालिमको समापन समारोहमा प्रशिक्षार्थी विद्यार्थीले बनाएका रोबोटिक्स र ग्राफिक्स डिजाइनका सामग्री प्रदर्शनीमा राखिएका थिए।
कार्यक्रममा अनुसन्धानकर्ता डा. सन्तोष कोइरालाले डिजिटल बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताउँदै युवाहरूलाई प्रविधिमा अभ्यस्त हुन जोड दिनुभयो। उहाँले डिजिटल सीपले बेरोजगारी हटाउन सकिने र अनुसन्धानमा लगानी आवश्यक रहेको उल्लेख गर्नुभयो।
पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले युवाहरूमा समस्याबाट भाग्ने प्रवृत्ति बढ्दै गएको र यसले पलायनको जोखिम निम्त्याएको औंल्याउनुभयो।
युवा वैज्ञानिक विकल्प ढुंगानाले सीप सिक्नु मात्र नभई त्यसको निरन्तरता महत्त्वपूर्ण रहेको बताउनुभयो। वडाध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्न सक्ने भन्दै वडालाई प्रविधिमैत्री बनाउन योजना सुरु गरिएको बताउनुभयो। उहाँले युवाहरूलाई सीपबाट आयआर्जनको बाटोमा लाग्न प्रेरित गर्नुभयो। वडाले तीन सामुदायिक विद्यालयमा ‘बुक फ्री डे’ अवधारणामार्फत सीप विकासलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, पोखरा विश्वविद्यालयका आईटी विभाग संयोजक डा. राममणि अधिकारी, युट्युबर अमृत थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी, वडाका सूचना अधिकारी नवराज सापकोटा र कार्यक्रम संयोजक सन्दीप पौडेलले प्रविधि र सीप विकासले विद्यार्थीलाई नयाँ अवसरसँग जोड्ने बताउनुभयो।
४५ दिनको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाइनमा ४५, रोबोटिक्समा २९ र व्यक्तित्व विकासमा १८ जनाले सहभागिता जनाएका थिए। समापनमा प्रशिक्षार्थीले बनाएको रिमोट कन्ट्रोल रोबोटिक्स सिजरले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरिएको थियो। छ वटा रोबोटिक्स प्रोजेक्ट, चाडपर्वका ग्राफिक्स डिजाइन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएका थिए।
पोखरा विश्वविद्यालयको प्रविधि प्रतियोगितामा स्मार्ट कृषि र स्मार्ट डस्टबिनमा दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई वडाध्यक्ष थापाले सम्मान गर्नुभयो।
यो तालिमले विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन र भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको सहभागीहरूले बताए।
