newa srijana

भोलि पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको सेमिफाइनल, उपाधि नजिक चार टिम

पोखरा । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ मा शुक्रबार सेमिफाइनलका दुई खेल हुँदैछन्। नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाका अनुसार पहिलो सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा एपिएफले पाल्पाको स्टेप रामपुरलाई ३–० (२५–६, २५–६, २५–७) को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। यस्तै, एभरेष्टले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई ३–१ (२१–२५, २५–१४, २५–२२, २५–१४) को सेटमा हराउँदै अन्तिम चारमा पुग्यो। न्यु डायमन्डले पनि गण्डकी र एभरेष्टलाई सोझो सेटमा पराजित गरी सेमिफाइनल यात्रा पक्का गरेको थियो।

सिटीजन फनिच्रर

Mountain run pokhara click

गण्डकी पहिलो सेटमा अग्रता लिए पनि त्यसपछिका सेटमा लय गुमाउँदा प्रतियोगिताबाट बाहिरियो। नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा नयाँ खेलाडीहरू लिएर मैदानमा उत्रिएको गण्डकीले पुरानो साख जोगाउन सकेन। यता, लगातार दुई हार बेहोरेको रामपुर पनि प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा नेपाल पुलिसले रामपुरलाई सोझो सेटमा हराएको थियो। नयाँ खेलाडीहरूको टोली रामपुरले अनुभवी राष्ट्रिय खेलाडीहरूको टोलीसँग प्रतिस्पर्धा गर्न नसकेको देखियो।

सेमिफाइनलका खेलहरू पोखरा रंगशालाको कभर्डहलमा हुने छन्, जसले प्रतियोगिताको उत्साहलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

Rabin photo