newa srijana

महिला टी–२० क्रिकेट: कास्की र नवलपुरको जित

पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजय हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरास्थित रंगशालाको क्रिकेट मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डिङ च्याम्पियन स्याङ्जालाई र नवलपुरले पर्वतलाई पराजित गरेको हो।

पहिलो खेल: कास्कीको ४ रनको जित

पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हरायो। कास्कीले दिएको ९६ रनको लक्ष्य पछ्याएको स्याङ्जा ९१ रनमा समेटियो। स्याङ्जाका सिमाना केसीले ४० बलमा ३१ रन (१ चौका, १ छक्का) र कुशुम गोदारले २४ बलमा १७ रन (१ चौका) बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। कास्कीका सुशीला डिम्टुक र चन्द्रमाया बरालले २–२ विकेट लिए भने रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १–१ विकेट लिए।

Mountain run pokhara click

यसअघि टस हारेर ब्याटिङ गरेको कास्कीले २० ओभरमा ५ विकेट गुमाएर ९५ रन बनायो। रेखा तामाङ ३७ बलमा ३३ रन (३ चौका) बनाएर अविजित रहिन्। सिर्जना पौडेलले ५७ बलमा ३५ रन (१ चौका) जोडिन्। स्याङ्जाकी सिमाना केसीले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् भने निरु जिटीले १ विकेट लिइन्।

सिटीजन फनिच्रर

दोस्रो खेल: नवलपुरको ४६ रनको जित

दोस्रो खेलमा नवलपुरले पर्वतलाई ४६ रनले पराजित गर्यो। ७७ रनको लक्ष्य पछ्याएको पर्वत ९.५ ओभरमा ३० रनमै अलआउट भयो। पर्वतका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। नवलपुरकी आयुषा चापागाईँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिइन् र ‘वुमन अफ दी म्याच’ घोषित भइन्। पूर्णिमा सुनारले २ र श्रेया शर्माले १ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट भयो। धनकुमारी क्षेत्रीले ४८ बलमा ३२ रन (३ चौका) बनाइन्। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। पर्वतका प्रतिभा खड्का र कृषा अखेलीले २–२ तथा अनुशा पौडेल, जिविका क्षेत्री र सुशीला भट्टराईले १–१ विकेट लिए।

तीन दिनसम्म चल्ने प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर र पर्वत गरी चार जिल्लाको सहभागिता छ।

Rabin photo