newa srijana

दोस्रो पर्वतीय दौडमा पुरस्कार राशिमा ठूलो वृद्धि

गत वर्षको तुलनामा पुरस्कार दोब्बर, ५ इभेन्टमा १८ धावक नगद, मेडल र प्रमाणपत्रसहित सम्मानित

पोखरा । यस वर्षको दोस्रो पर्वतीय दौड प्रतियोगितामा पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ। आगामी असोज ४ गते पोखरामा आयोजना हुने प्रतियोगितामा पुरस्कार रकम गत वर्षको तुलनामा दोब्बर भएको हो। पोखरा क्लिक को आयोजनामा हुने यो प्रतियोगिताको तयारी विभिन्न सरोकारवालासँगको समन्वयपछि सम्पन्न भएको छ, जसअनुसार पुरस्कार रकम करिब ६६ प्रतिशतले बढाइएको छ।

गत वर्ष ६८ हजार रुपैयाँसहित ६ जना मात्र धावक पुरस्कृत भएका थिए भने यस वर्ष पाँच फरक इभेन्टमार्फत कुल दुई लाख छह हजार रुपैयाँ वितरण हुनेछ। यस अन्तर्गत १८ जना धावकलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खुला समूहमा पहिलो स्थान हासिल गर्नेले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई ७ हजार, पाँचौँलाई ३ हजार, र छैटौँदेखि दशौँसम्मका धावकलाई जनही १ हजार रुपैयाँ दिइनेछ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

वडा–स्तरीय खुला, महिला, र यू–१६ वर्गमा प्रथम हुनेलाई जनही १५ हजार र द्वितीय हुनेलाई जनही ७ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै ४० वर्षभन्दा माथिका भेट्रान धावक र विदेशी सहभागीलाई पनि जनही १५ हजारको प्रोत्साहन पुरस्कार दिइनेछ।

गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालका अनुसार, यस्ता प्रतियोगिताले स्थानीय पहिचान र राष्ट्रिय गौरव बढाउन टेवा पुर्‍याउँछन्। दौड विश्व शान्ति स्तुपाबाट सुरु भई पुम्दीकोट महादेव मन्दिर हुँदै कालाबाङ घरेडी बुद्ध पार्कसम्म पुग्ने ८ किलोमिटर लामो मार्गमा सम्पन्न हुनेछ।

करिब १६ लाख ९१ हजार रुपैयाँको अनुमानित लागतमा हुने यो प्रतियोगितामा विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका वडा नं २२, विभिन्न व्यवसायिक संस्था, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद परिषद् गण्डकी, र नेलम्बो नेपाल (मेडिकल पार्टनर तथा तेस्रो पुरस्कार प्रायोजक) को सहयोग रहेको छ। सिटीवान टेलिभिजन आधिकारिक मिडिया पार्टनर र ग्लेज नेचुरल स्प्रिङ वाटर आधिकारिक पेयजल प्रदायक हुनेछन्।

 

Rabin photo