पोखरा । युवा कम्युनिस्ट लिग (वाइसीएल) नेपालको श्रम तथा उत्पादन अभियानअन्तर्गत स्याङ्जा जिल्लामा आइतबार सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वाइसीएल स्याङ्जा जिल्ला समितिको आयोजनामा भालु पहाड र शहीद पार्क क्षेत्रमा गरिएको उक्त कार्यक्रममा स्तम्भ रङरोगन समेत गरिएको थियो।
स्थानीय युवाहरू झाडू, बुट्टा, रंग र बिरुवासहित स्थलमा जुटेका थिए। उनीहरूले पार्क वरिपरिका फोहोर संकलन गर्दै वातावरण सुन्दर बनाउन वृक्षारोपण गरेका छन्।
वाइसीएल स्याङ्जा जिल्ला अध्यक्ष अर्जुन तिवारी (सफल) का अनुसार, यो अभियान केवल सफाइमा सीमित नभई पर्यटकीय स्थलहरूको दीर्घकालीन संरक्षण र सौन्दर्यीकरणतर्फ उन्मुख छ। “हाम्रो उद्देश्य स्थानीय युवामा सामाजिक दायित्वबोध जगाउनु र वातावरणमैत्री पर्यटनलाई प्रोत्साहन गर्नु हो,” उनले भने।
स्थानीय समुदायले यस पहललाई सकारात्मक रूपमा लिएका छन्। यस्ता क्रियाकलापले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने साथै स्थानीय आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
यो कार्यक्रम वाइसीएलको राष्ट्रव्यापी श्रम तथा उत्पादन अभियानको एक हिस्सा हो, जसअन्तर्गत कृषि, उत्पादन र सरोकारका अन्य क्षेत्रमा समेत युवाहरूलाई सहभागी गराउने योजना छ। स्याङ्जा जिल्ला समितिले आगामी दिनमा अन्य गाउँ र नगरका सार्वजनिक स्थलमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने तयारी गरेको जनाएको छ।
