सुचना१

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड : ६ प्रदेशका सय खेलाडी दर्ता

असोज ११ मा पोखराको विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडीसम्म ८ किमि दूरीमा प्रतिस्पर्धा

पोखरा । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) अवसरमा पोखरामा आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा हालसम्म ६ वटा प्रदेशका करिब १ सय खेलाडीले नाम दर्ता गरेका छन् । मधेश प्रदेशबाहेक अन्य प्रदेशका धावक सहभागी भइसकेका छन् भने दर्ता प्रक्रिया अझै केही दिन चल्ने आयोजकले जनाएका छन् ।

८ किलोमिटर दूरीमा आयोजना हुने यो प्रतियोगिता असोज ११ गते विश्व शान्ति स्तुप, पोखरा–२२ बाट सुरु भएर कालाबाङ घरेडीस्थित बुद्धपार्कसम्म हुनेछ । संयोजक दीननाथ बरालका अनुसार नेपालसहित बेलायतका खेलाडीले समेत दर्ता गराएका छन् । लक्ष्य भने कम्तीमा २ सयदेखि २५० खेलाडी सहभागी गराउने राखिएको छ । खेलाडी दर्ता ‘फस्ट कम–फस्ट सर्भ’ आधारमा हुने भएकाले २५० जना पुग्नेबित्तिकै फारम बन्द हुने उनले जानकारी दिए । इच्छुकले पोखरा क्लिक अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् ।

यसअघि असोज ४ गते हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण एक सातापछि सारिएको हो । पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने दौडमा ६ वटा फरक–फरक इभेन्ट रहनेछन् । विजेतालाई नगदसहितको पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, पोखरा पर्यटन परिषद्, विभिन्न होटल, व्यवसायिक संस्था र सामुदायिक समितिहरूले सहयोग गरेका छन् । विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, अन्नपूर्ण केवलकार, होटल संघ पोखरा, पोखरा भ्रमण वर्ष २०२५ लगायतका निकाय संलग्न रहेका छन् ।

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडमा सहभागी हुन QR कोड स्क्यान गरेर दर्ता गर्न सकिनेछ 👇️

प्रतियोगितामा स्वास्थ्य सुरक्षाका लागि नेलम्बो नेपाल मेडिकल पार्टनर, नमस्ते हस्पिटल हस्पिटल पार्टनर रहनेछन् । आधिकारिक टेलिभिजन सिटीवान, आधिकारिक रेडियो रेडियो सफलता तोकिएको छ भने ग्लेज नेचुरल स्प्रिङ वाटर आधिकारिक खानेपानीका रूपमा रहनेछ ।

खुला विधातर्फको पहिलो पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धावक लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् भने तेस्रो पुरस्कार नेलम्बो नेपालले उपलब्ध गराउनेछ । त्यस्तै सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधा, पर्यटक दौड र महिला खुलातर्फ प्रोत्साहन स्वरूप जनही १५ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

प्रतियोगितामा करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोखरा क्लिकका व्यवस्थापक सागर सुनारका अनुसार प्रतियोगिता खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसले पोखरालाई खेल र पर्यटन दुवै क्षेत्रमा थप चिनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर