सुचना१

पोखरा–घोडेपानी सडक सञ्जाल जोडिँदै, अब तीन घण्टामै यात्रा

अन्नपूर्ण पदमार्गको मुटुसम्म पुग्ने ‘मुक्ति मार्ग’ उद्घाटन, पर्यटन र व्यापारिक सम्भावनामा नयाँ आयाम

पोखरा । पोखराबाट विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गस्थित घोडेपानी पुग्न अब तीन घण्टामै सकिने भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ सिमानामा पर्ने उल्लेरी–वनठाँटी–घोडेपानी सडक खण्ड जोडिँदै क्षेत्रीय यातायात सञ्जालमा नयाँ उपलब्धि थपिएको हो।

यो खण्ड ‘मुक्ति मार्ग’ अन्तर्गतको महत्वपूर्ण भाग हो, जसले नयाँपुल–वीरेठाँटी–तिखेढुङ्गा–उल्लेरी–घोडेपानी–पोखरेबगर–तातोपानी हुँदै मुक्तिनाथसम्मको यात्रा सहज बनाएको छ। सडक ट्र्याक निर्माण अन्नपूर्ण गाउँपालिकाको पहलमा स्थानीयवासीको आर्थिक सहयोग र श्रमदानसहित सम्पन्न गरिएको हो।

दुवै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी र म्याग्दी अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुनले मंगलबार संयुक्त रूपमा सडक उद्घाटन गर्नुभयो।

कार्यक्रममा अध्यक्ष विष्णु बहादुर केसीले सडक सञ्जाल विस्तारले अन्नपूर्ण क्षेत्रको पर्यटन, व्यापार र धार्मिक यात्रामा नयाँ सम्भावना थप्ने बताउनुभयो। उहाँले उक्त मार्गले गाउँका उत्पादन बजारसम्म पुर्‍याउन सहज बनाउने, पर्यटनमा विविधता ल्याउने र धार्मिक यात्रुहरूको संख्या बढाउने अपेक्षा रहेको बताउनुभयो।

उद्घाटनसँगै पोखरा–घोडेपानी यात्रा छोटो, सहज र आर्थिक बनेको छ। अब घोडेपानी पुग्न लाग्ने लामो पैदल यात्रा इतिहास बन्दै गएको छ भने सडक खुल्नासाथ अन्नपूर्ण क्षेत्रको विकास, रोजगारी र स्थानीय आयस्तरमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

सडकको उद्घाटनपछि सरोकारवाला निकायहरूले यसको स्तरोन्नति, मर्मत–सम्भार र वातावरणीय सन्तुलनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीयवासीले भने यो सडकले आफ्नो क्षेत्रलाई पर्यटन नक्सामा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पोखरा–घोडेपानी सडक सञ्जालको निर्माणले कास्की र म्याग्दीका बासिन्दाका लागि ऐतिहासिक उपलब्धि कायम गरेको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत कुमार पुनले भने यो सडकले अन्नपूर्ण पदमार्ग, पर्यटकीय आकर्षण र धार्मिक यात्राको केन्द्र घोडेपानीसम्मको यात्रा सहज बनाउनेछ र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्नेछ।

म्याग्दी–कास्की जोड्ने वैकल्पिक सडक सञ्चालन अघि नयाँपुल–बीरेठाँटी–उल्लेरी खण्डको स्तरोन्नति कार्य सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ अध्यक्ष भरत मान गुरुङले बताए चालु आ.व.मा यसका लागि ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। भुरुङ्दी खोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ जसले स्थानीय यातायात र ग्रामीण पहुँचमा सहजता ल्याउने विश्वास गरिएको उनले जानकारी दिए।

पोखरेबगर–चित्रे खण्डको बाँकी सडक मर्मतका लागि संघीय सरकारले ३ करोड रुपैयाँ उपलब्ध गराएको छ भने गाउँपालिकाले थप ५० लाख रुपैयाँको योजना कार्यान्वयनका लागि ठेक्का दिन तयारी गरेको छ। स्थानीय बासिन्दाबाट संकलन गरिएको १६ लाख ६० हजार पाँच सय ३५ रुपैयाँमध्ये १६ लाख ५ हजार पाँच सय ७६ रुपैयाँ भालेओडारदेखि नाङ्गेठाँटीसम्म सडक खन्न प्रयोग भएको छ। नाङ्गेठाँटीदेखि घोरेपानीसम्मको सडक स्थानीयको चन्दा १६ लाख ५ हजार पाँच सय ७६ रुपैयाँले खनेको र अन्नपूर्ण गाउँपालिकाको २० लाख रुपैयाँले नयाँ सडक ट्र्याक खनेको प्रवक्ता गुरुङले बताए।

उद्घाटन कार्यक्रममा दुवै गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पूर्व जनप्रतिनिधि, बाटो निर्माण समिति, आमा समूह, क्लब, स्थानीय व्यापारी तथा यातायात व्यवसायीको उत्साहजनक उपस्थिति रहेको थियो।

वडा नं २६
Sadak 1
पुल सेन्टर