सुचना१
newa srijana

पोखरामा ‘फाइनप्रिन्ट फिभर’ साहित्य उत्सव सम्पन्न

पोखरा । पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैङ्कवेटमा बुधबार ‘फाइनप्रिन्ट फिभरः घुम्ती साहित्य उत्सव’ सम्पन्न भएको छ। फाइनप्रिन्ट बुक्सको आयोजना तथा र्‍याण्डम रिडर्स सोसाइटीको सहआयोजनामा भएको यो कार्यक्रम चौथो संस्करणको हो। यसले पठन संस्कृति प्रवर्द्धन गर्दै लेखक र पाठकबीच आत्मीयता बढाउने मुख्य उद्देश्य राखेको छ।

कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमालले हालै प्रकाशित आत्मकथा ‘युगदेखि युगसम्म’ लिएर सहभागिता जनाए। युवा पुस्तामा लोकप्रिय लेखक सुविन भट्टराईले नयाँ कृति ‘चमेलीको फूल, बैजनी रूमाल’ र डा. नवराज केसीले ‘शून्यको मूल्य’ तथा ‘स्वस्पर्श’ जस्ता पुस्तक लिएर उपस्थित भए। प्रवेश निःशुल्क रहेको उत्सवमा पाठकहरूले लेखकहरूसँग प्रत्यक्ष संवाद गर्ने हस्ताक्षरयुक्त पुस्तक प्राप्त गर्ने तथा लेखन प्रक्रियाबारे जानकारी लिने अवसर पाए।

उत्सव तीन सत्रमा विभाजित थियो। पहिलो सत्रमा नायिका सनिशा भट्टराईले सुविन भट्टराईसँग संवाद गर्दै आफ्नो कृतिमा सात कथा समेटिएको बताए। उनले शीर्षक छनोटमा लामो समय अन्योल भएको अनुभव सुनाउँदै कथाहरू दैनिक जीवनका वरपरका घटनामा आधारित भएको स्पष्ट गरिन्। भट्टराईले सबैसँग कथा हुने तर कसैले लेख्ने र कसैले भुल्ने मात्र फरक हुने पनि बताए।

दोस्रो सत्रमा साहित्यकार उपेन्द्र पौडेलसँग डा. नवराज केसीले ‘स्वस्पर्श’ पुस्तकबारे छलफल गरे। डा. केसीले जीवनको उद्देश्यबारे भन्दै आफूलाई खुसी दिनु अलि कम र अरूलाई खुसी दिनु धेरै महत्वपूर्ण भएको बताए। उनले नपाउँदाको महत्व पाउँदाको बेला पनि दिनुपर्ने जोड दिए। पुस्तकमा आमाको माया झल्काइएको र विभिन्न व्यक्तिका वास्तविक कथाहरू संकलन गरिएको जानकारी दिए। एक पाठकले आत्महत्या गर्ने तयारी छोडेर बाँच्न थालेको इमेल प्राप्त गरेको अनुभव साझा गर्दै डा. केसीले ती पाठकलाई नै आफू संकलकबाट लेखक बन्न प्रेरणा दिएका बताए।

अन्तिम सत्रमा पत्रकार अपिल त्रिपाठीसँग राजेश हमालले ‘युगदेखि युगसम्म’ पुस्तकबारे संवाद गरे। हमालले व्यक्तिगत जीवन खुलाउन सहज भएको कारण लेखक यज्ञशसँगको सहकार्य रहेको बताए। उनले कलाकारको पर्दा बाहिरको जीवन बुझाउन आत्मकथा आवश्यक ठानेको बताए। राजनीतिबारे उनले राजनीतिमा चासो नराखे पनि राजनीतिले चासो राख्ने भएकाले कसैले उम्कन नसक्ने बताए र यसलाई देशको मेरुदण्ड भने।

सोसाइटीका अध्यक्ष दीपक पराजुलीका अनुसार यो शृंखला सन् २०१८ (विक्रम सम्वत् २०७५) बाट सुरु भएको हो। यसअघि कार्तिक १ गते चितवनमा कार्यक्रम भएको थियो। उत्सवले लेखकहरूको विचार साझा गर्नुका साथै पाठकहरूसँगको प्रत्यक्ष भेटघाटले साहित्यिक वातावरणलाई जीवन्त बनाएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की