सुचना१
newa srijana

विश्व मत्स्य दिवसमा फेवातालमा पाँच हजार माछाका भुरा छाडेर संरक्षण अभियान सुरु

पोखरा । विश्व मत्स्य दिवस २०२५ को अवसरमा पोखराको फेवातालमा पाँच हजार स्थानीय जातका माछाका भुरा छाड्दै ताल तथा नदी प्रणालीमा रैथाने माछा संरक्षण अभियान प्रारम्भ गरिएको छ । “नदी र तालहरुको व्यवस्थापन गरी जलचरहरुको संरक्षण गरौं” भन्ने नारासहित सञ्चालन गरिएको उक्त अभियानले लोपोन्मुख स्वदेशी माछा जातको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस अवसरमा शहर, नैनी, रहु लगायतका पाँच हजारभन्दा बढी स्थानीय माछाका भुरा फेवातालमा छाडिएको हो । ती भुरा वेगनासताल मत्स्य अनुसन्धान केन्द्रबाट ल्याइएको थियो । कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको मत्स्य अनुसन्धान केन्द्र पोखराको मुख्य आयोजना तथा नेपाल फिररिज सोसाइटी काठमाडौँ, हर्पन फेवा मत्स्य सहकारी संस्था लि. र जलारी दिदी–बहिनी समूह पोखरा–६ बैदामको सह–आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घघाटन गर्दै कृषि तथा पशुपन्छी विकास निर्देशनालय पोखराका प्रमुख ग्रीष्मराज न्यौपानेले ताल तथा जलाशय क्षेत्रमा विषादी प्रयोगले पर्यावरणमा प्रतिकूल असर पारिरहेको भन्दै त्यसको रोकथाममा सबैले ध्यान दिनुपर्ने बताए । उनले पोखराको फेवाताल लगायतका तालमा स्वदेशी जातका माछा संरक्षण गर्न स्थानीयदेखि सरकारी निकायसम्म सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै माछा मानव स्वास्थ्यका लागि पुस्टिकर स्रोत भएकोले यसको प्रवद्र्धनमा जोड दिए ।

कार्यक्रमका सभापति तथा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. महमद इक्वाल हुसेनले विश्व मत्स्य दिवसको अवसरमा संरक्षण अभियान स्वरूप पाँच हजार भुरा छाडिएको बताउँदै, यसअघि बगेनासतालमा पनि नियमित रूपमा भुरा छाड्ने कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । उनका अनुसार पोखरा क्षेत्र र कास्की जिल्लामा स्वदेशी जातका माछा लोपोन्मुख अवस्थासम्म पुगेकाले संरक्षण अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ ।

उक्त कार्यक्रममा मत्स्य वैज्ञानिक डा. झरेन्द्र पन्तले पोखरा क्षेत्रमा माछापालन व्यवसायलाई आधुनिक प्रविधि र पूर्वाधारमार्फत विस्तार गर्नुपर्नेमा जोड दिँदै भने, “धानको उत्पादनभन्दा माछाको उत्पादन आठ गुणा बढी गर्न सकिने सम्भावना छ । तालमा पिजडाको प्रयोगसँगै माछा संरक्षणमा सकारात्मक सुधार भएको छ ।” उनले माछा पालनबाट आय आर्जन वृद्धि हुने, रोजगारी सिर्जना हुने र माछा खानाले बौद्धिक क्षमता वृद्धि हुने वैज्ञानिक तर्क प्रस्तुत गरे। साथै, तालमा हुने गैरकानुनी माछा सिकार रोक्न प्रहरी सहयोगमा निगरानी बढाइएको पनि बताए ।

सह–आयोजक हर्पन सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले जलासयको सरसफाइ, व्यवस्थापन र संरक्षणमा कार्य गर्न सरकारी निकायले सहयोग गर्नुपर्ने माग गरे । उनले जलारी समुदायको पारम्परिक मत्स्य व्यवसाय अस्तित्व संकटमा परेको उल्लेख गर्दै, “ताल भनेको भकारी हो । आवश्यकता अनुसार माछा मारौं, तर जथाभावी होइन,” भन्दै माछा प्रजननका ठाउँहरूको संरक्षणमा सरोकारवाला सबैको ध्यानाकर्षण गरे ।

कार्यक्रमका अन्तिम चरणमा पोखराको लेकसाइड क्षेत्र हुँदै सचेतनामूलक र्याली आयोजना गरिएको थियो, जसमा सहभागीहरूले माछा तथा जलचर संरक्षण सम्बन्धी सन्देश सहित प्रदर्शन गरेका थिए । कार्यक्रम संचालन मत्स्य अनुसन्धान केन्द्र पोखराकी प्रमुख प्रशासन सहायक भगवती थापाले गरेकी थिइन्।

विश्व मत्स्य दिवसका अवसरमा गरिएको यस प्रकारको अभियानले जलचर संरक्षण, ताल व्यवस्थापन तथा जैविक विविधता जोगाउन दीर्घकालीन प्रभाव पार्ने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् ।

 

Sadak 1
पुल सेन्टर