पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साताबाट २१औँ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्ने भएको छ। संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा तथा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहआयोजनामा हुने महोत्सवबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
२०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको कार्यक्रमलाई २०६१ देखि वार्षिक रूपमा लेखनाथ महोत्सवका रूपमा अघि बढाइएका हौँ महोत्सवका मूल संयोजक तथा संघका अध्यक्ष जानुका पराजुली अधिकारी ले बताउँदै विविध जातजाति र भाषा–संस्कृतिलाई एउटै स्थलमा समेटेर क्षेत्रको सांस्कृतिक पहिचानलाई मजबुत बनाउनै महोत्सवको मुख्य उद्देश्य रहेको उल्लेख गरिन्।
विषम आर्थिक परिवेशमा मेला–महोत्सव आयोजना आफैँमा चुनौतीपूर्ण भए पनि व्यवसायी र सर्वसाधारणको खस्किएको मनोबल उठाउन तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो कार्यक्रम आवश्यक छ महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराई ले उल्लेख गर्दै क्रेता, विक्रेता र उपभोक्ताका आवश्यकता तथा परिपूर्तिलाई जोड्ने प्रभावकारी संगम स्थलको रूपमा महोत्सव स्थापित हुने विश्वास व्यक्त गरे।
महोत्सवका लागि सर्वसाधारणका लागि १ सय, विद्यार्थीका लागि ५० र बेलुका सुगम संगीत/कन्सर्टका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। आयोजकका अनुसार आम्दानीबाट बचत हुने रकम नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माण र पर्यटन प्रवर्द्धनका कार्यक्रम मा खर्च गरिनेछ।
अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव भरतराज ओझा, वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोला, पत्रकार सरिता तिमिल्सिना पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीमराज लामिछानेलगायतले सहभागिता जनाएका थिए।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारामा आधारित कार्यक्रमका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय सल्लाहकार समिति, ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति र ३०० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
३३५ स्टल रहने महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शक आउने र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। आयोजकले करिब ९५ लाख आम्दानीमध्ये ८५ लाख खर्च भई १० लाख बचत हुने अपेक्षा गरेको छ।





