सुचना१
newa srijana

संसद पुनर्स्थापना नगरे चुनाव असम्भव : सचिव अधिकारी

पोखरा । नेकपा (एमाले) का केन्द्रीय सचिव खगराज अधिकारीले प्रतिनिधि सभा पुनर्स्थापना नगरी चुनाव हुन नसक्ने बताएका छन्। सर्वदलीय सरकार गठन गरेर मात्र चुनावको वातावरण बन्ने उनको भनाइ छ।

प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले फागुन २१ मा तोकिएको प्रतिनिधि सभा चुनाव हुने सम्भावना नरहेको बताए। संसद विघटन असंवैधानिक भएकाले पहिले त्यसको समाधान गर्नुपर्ने उनको तर्क छ।

प्रतिनिधि सभा असंवैधानिक तवरले भङ्ग भयो अधिकारीले भने पहिले संसद पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्छ, त्यसपछि मात्र चुनावमा जान सकिन्छ। विगतमा केपी शर्मा ओलीले संसद सदस्यको दुई तिहाईको नेतृत्व गर्दा पनि विकल्प खोज्न भनिएको उनले भने।

एमालेले सरकार नेतृत्वको दाबी नगर्ने जानकारी दिँदै अधिकारीले सर्वदलीय सरकारबाट चुनावमा जानुपर्ने बताए। संसद पुनर्स्थापनाले घायल भएको संविधानलाई सच्याउन र वर्तमान सरकारबाट भएका असंवैधानिक निर्णयलाई वैधानिक बनाउन मद्दत पुग्ने उनको दाबी छ।

युवा पुस्ताले मागेको सुशासन र भ्रष्टाचार नियन्त्रण संसद पुनर्स्थापनाबाट सम्भव हुने अधिकारीले बताए। संविधान संशोधन गरेर सबै असंवैधानिक कामलाई वैधानिक बनाउन सकिने उनले तर्क गरे।

औद्योगिक व्यापार मेला

नेता अधिकारीले वर्तमान सरकारले चुनावको तयारीमा ध्यान नदिएको आरोप लगाए। राजनीतिक दलको सहमति बिना आचार संहिता बनाउनु, मुख्य नेताको पासपोर्ट रद्द गर्नु र स्थानबद्धता लगाउनुले चुनावको वातावरण नै नष्ट भएको उनको भनाइ छ।

जेन्जी प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएको हातहतियार फिर्ता नभएसम्म र फरार अपराधीलाई कारबाही नगरेसम्म चुनाव हुन नसक्ने अधिकारीले दाबी गरे। प्रहरीको पोशाक र हातहतियार बाहिर रहेको अवस्थामा मतदान केन्द्रमा भ्रमको स्थिति सिर्जना हुन सक्ने उनले चेतावनी दिए।

जेन्जी प्रदर्शनको नाममा भएको हिंसालाई बाह्य षड्यन्त्र भन्दै अधिकारीले नेपालको प्राकृतिक स्रोतमाथि नजर राख्ने पक्षबाट आक्रमण भएको आरोप लगाए। एउटै रसायन प्रयोग गरेर आगजनी भएको र सोही कारण अझै पनि आगो लाग्न सक्ने उनको दाबी छ। नेपाललाई सिक्किम र भुटान बनाउने षड्यन्त्र भइरहेको भन्दै उनले राष्ट्र र राष्ट्रियता जोगाउन कांग्रेस र एमालेबीच गठबन्धन भएको सम्झाए।

एमाले चुनावबाट भाग्न खोजेको होइन भन्ने कुरा स्पष्ट पार्दै अधिकारीले जहिले पनि चुनाव भए आफ्नो पार्टी जनादेशबाट पहिलो बन्ने दाबी गरे। आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमाले कहिल्यै चुनावबाट पछि नहट्ने उनले बताए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ एमाले एकताबद्ध रहेको अधिकारीले जानकारी दिए। पार्टीको ११ औं महाधिवेशनपछिका परकम्पनका गतिविधि व्यवस्थापन हुने र एमाले बलियो भए लोकतन्त्र र राष्ट्र सुरक्षित हुने उनलेे प्रष्ट पारे ।

प्रेस चौतारी कास्कीका उपाध्यक्ष गिरीधारी पाेखरेलकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनको सञ्चालन सचिव अनुप पौडेलले गरेका थिए ।

पुल सेन्टर
Sadak 1