पोखरा । चार वटा उमेर समुहमा खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता आउदो फागुन महिनाको पहिलो हप्ता पोखरामा हुने भएको छ ।
मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्सप्लेक्सको आयोजनामा पोखरा महानगरपालिका–१०, हस्पिटल चोकस्थित फिट नेपाल स्पोट्र्सप्लेक्समा फागुन १ देखि ३ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को पाँचौँ संस्करणमा यू–११, य्रू–१३, यू–१७, र यू–१९ छात्र तथा छात्रा उमेर समूहका खेलाडीहरूको प्रतिष्प्रर्धा गर्ने भएका भएको फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले बताउनु भयो ।
ब्याडमिन्टन खेलमार्फत विद्यालय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्मका उदयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, खेलकुद विकासलाई टेवा दिने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका खेलाडीहरूको सहभागिता रहने पूर्व राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडी समेत रहनु भएको अध्यक्ष गुरुङले जनाउनु भयो । प्रतियोगिता अन्तर्गत यू—११ र यू—१३ तर्फका विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । त्यसैगरी यू–१७ तथा यू–१९ समूहमा प्रथम हुने खेलाडीले जनही मेडल, ट्रफी, प्रमाणपत्रसहित नगद ४० हजार रुपैयाँ, द्वितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै समग्र पदक तालिकाका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ‘बेस्ट स्कूल ट्रफी’ प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जापानी प्रशिक्षक टि–यामामोतोले नेपालको ब्याडमिन्टन खेलमा राम्रो सम्भावना रहेको दाबी गर्दै फिट नेपालले ग्रासरुट तहको खेल विकासमा उल्लेखनीय योगदान दिएको बताउनुभयो । त्यसैगरी फाउण्डेसनका सल्लाहकार जयराज हमालले मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताले पोखरा क्षेत्रको ब्याडमिन्टन खेलको विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्नुभयो ।
फिट नेपाल र मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनको मुख्य नारा “रोड टु ओलम्पिक” रहेको छ । प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरतर्फ अघि बढ्न प्रेरणा मिल्ने संयोजक बरदान ताङवे लामाले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा यू–१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना लगायतका चर्चित खेलाडीहरूको सहभागिता रहने उहाँले जनाउनु भयो । देशका विभिन्न भाग जस्तै काठमाण्डौं, चितवन, भैरहवा, धरान लगायतबाट खेलाडीहरु आउने भएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्याडमिन्टन खेलाडी पुनम गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष यामबी आस्था लगायतको सहभागिता रहेको थियो ।





