पोखरा । “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबका प्रवास शाखाका पदाधिकारीहरूलाई शनिबार पोखरामा स्वागत तथा सम्मान गर्यो ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अस्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ र सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतलाई खादा र सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले खेलकुद विकासमा सहारा युकेले पुर्याएको योगदानको सराहना गर्नुभयो । उहाँले आगामी दिनमा पनि खेलको विकासमा सँगै हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । युकेमा बसोबासदेखि खेलाडीहरूलाई घुमाउने व्यवस्था मिलाउँदै आएको स्मरण गर्दै उहाँले मञ्चले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डमा आगामी दिनमा पनि सहयोग जारी राख्ने र नेपाली खेलाडीलाई खेल्ने अवसर सिर्जना गर्न हातेमालो गर्दै अघि बढिने बताउनुभयो ।

सहारा युकेका अध्यक्ष शारदा गुरुङ, अस्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, उपाध्यक्ष पिताम्बर गुरुङ र हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव परशुराम शर्माले सञ्चालन गर्नुभएको थियो ।






