newa srijana

क्व्होलासोंथरमा तमु पेलो सङ्घ हङकङको भ्रमण, विश्व सम्पदामा सूचीकृत गर्न माग

पोखरा । तमु पेलो सङ्घ हङकङ शाखाले तमु (गुरुङ) समुदायको पुख्र्यौली तथा ऐतिहासिक थलो क्व्होलासोंथरको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ।

सन् २००३ मा स्थापित सङ्घको पहिलो प्रवास शाखाका रूपमा रहेको हङकङ टोलीले चैत २५ देखि ३० गतेसम्म संस्कार, संस्कृति र इतिहास संरक्षण गर्ने उद्देश्यसहित भ्रमण गरेको हो।

शाखाका २० पदाधिकारी सहभागी टोलीले पोखराबाट यात्रा सुरु गरी ताङतिङ, कर्पु डाँडा, लमजुङ, सिङ्दी, तप्रोखर्क र दुधपोखरी हुँदै क्व्होलासोंथरसम्म पदयात्रा गरेको थियो। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत शाखाले उक्त भ्रमणबारे जानकारी सार्वजनिक गरेको हो। तमु समुदायमा जीवनकालमा एकपटक पुख्र्यौली थलो पुग्नुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद यात्रा सफलतापूर्वक सम्पन्न भएको शाखाका अध्यक्ष मनबहादुर क्रोम्छैँ तमुले बताए।

यात्राका क्रममा टोलीले ताङतिङस्थित तोनी क्व्होइँवोको अवलोकन गरी आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ। समुद्री सतहदेखि २,९१७ मिटर उचाइको सिङ्दीलीको पुख्र्यौली घडेरी र २,९८७ मिटर उचाइको खुइँदो डाँडा हुँदै टोली अघि बढेको थियो। त्यसैगरी ३,३२० मिटर उचाइको चोरो डाँडा र ऐतिहासिक क्रोम्छैँ पोखरी पुगेको टोलीले जनाएको छ।

उक्त पोखरी पुर्खाको इतिहास र विश्वाससँग जोडिएको कोषाध्यक्ष ठाकुरप्रसाद क्होला तमुले बताए। पोखरी सधैं सफा रहने र चराहरूले समेत पातपतिंगर सफा गर्ने किम्वदन्ती रहेको छ। यात्राकै क्रममा ३,४०३ मिटर उचाइको नान्दी पोखरीमा माइनस २० डिग्री सेल्सियस र तसा–खलामा माइनस २४ डिग्री सेल्सियससम्म चिसो अनुभव गरिएको टोलीले जनाएको छ।

क्व्होलासोंथर पुगेपछि टोलीले करिब १,२०० वर्ष पुरानो तमु बस्तीका अवशेष र २०७२ सालमा निर्मित क्व्होइँवोको अवलोकन गरेको थियो। करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानको मुकोलामा डेढ सयभन्दा बढी घरका भग्नावशेष फेला परेको टोलीले जनाएको छ। साथै पुर्खाले निर्माण गरेका चौतारा र धर्मशालाका अवशेष पनि भेटिएका छन्।

सिटीजन फनिच्रर

त्यहाँ भेटिएका तच्युद्वा (घोडा बाँध्ने खम्बा), छोँज धीँ (ठूलो घर) र गोलाकार घरका संरचनाले तमु सभ्यताको प्राचीन इतिहास झल्काउने टोलीको निष्कर्ष छ।

भ्रमणको चौथो र पाँचौँ दिन टोलीले सिक्लेस तथा त्यहाँका विभिन्न क्व्होइँवोहरूको अवलोकन गरेको थियो। सिक्लेसमा सञ्चालित पच्यु, क्ल्हेप्री र वोन्लम चेलाहरूको प्रशिक्षण केन्द्रका लागि सङ्घले आर्थिक सहयोगसमेत हस्तान्तरण गरेको छ।

भ्रमणका क्रममा क्व्होलासोंथर क्षेत्रमा विभिन्न समस्या देखिएको संस्थापक सल्लाहकार रितबहादुर ल्हेगें तमुले बताए। उनका अनुसार पुरातात्विक वस्तुहरू लोप हुँदै गएका छन्, ध्वजा, ब्यानर र पोस्टरको व्यवस्थापन आवश्यक देखिएको छ, आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने र क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालिएको छ।

सङ्घले क्व्होलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गर्दै संरक्षण र व्यवस्थापनमा स्थानीय तहदेखि केन्द्रसम्मले पहल गर्नुपर्ने जनाएको छ। तमु समुदायको ऐतिहासिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले विशेष नीति आवश्यक रहेको सहसचिव मनोज तेल्मे तमुले बताए।

उनले तमु भाषामा लिपि नहुँदा पाठ्यक्रममा समावेश गर्न समस्या भएको बताए। भाषा, संस्कार र संस्कृतिमा अतिक्रमण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नयाँ पुस्तालाई भाषा, संस्कार, संस्कृतिसहित रीतिरिवाजबारे ज्ञान दिनुपर्नेमा उनले जोड दिए।

भ्रमण टोलीमा संस्थापक सल्लाहकार रितबहादुर ल्हेगें तमु, पूर्वअध्यक्ष जितेन्द्र योज तमु, कोषाध्यक्ष ठाकुरप्रसाद क्होला तमु, निवर्तमान कोषाध्यक्ष रमा क्होला तमु, सहसचिव मनोज तेल्मे तमु, आमा सदस्य विमला ल्हो तमु, एकजङ प्ल्हे तमु तथा फोटोग्राफर प्रेम प्हच्यु तमु सहभागी थिए।

कार्यक्रमको सञ्चालन सङ्घका केन्द्रीय महासचिव हर्का गुरुङले गरेका थिए।

हेम्जा आलु महोत्सव
अनिल multipurpose