newa srijana

क्होला सोँप्रे ट्होको अध्ययन र विश्व सम्पदा सूचीकरणका लागि तमु पेलु सङ्घ यूकेको पदयात्रा

पोखरा । तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलोका रूपमा मानिने क्होला सोँप्रे ट्हो (क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि यूकेबाट आएको ५५ सदस्यीय टोली आइतबार भुजुङतर्फ प्रस्थान गर्ने भएको छ।

करिब १३ सय वर्ष पुरानो यस ऐतिहासिक स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानस्वरूप तमु प्ये ल्हु संघ यूकेको संयोजकत्वमा गठन भएको उक्त टोली वैशाख ६ गतेदेखि ११ गतेसम्म छ दिने अध्ययन तथा अवलोकन भ्रमणमा निस्कने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।

संघका अध्यक्ष क्याप्टेन डेमबहादुर योज तमुको नेतृत्वमा हुने उक्त भ्रमणको व्यवस्थापनमा द्वितीय उपाध्यक्ष अमर गुरुङ संलग्न रहेका छन्। भ्रमणअघि वैशाख ५ गते शनिबार साईतको छ्योप पूजा गरिनेछ। सो पूजामा सहभागी सबै सदस्यहरूको उपस्थिति रहने र पूजा सम्पन्नपछि विभिन्न विषयमा छलफल गर्न बैठक समेत आयोजना गरिने जनाइएको छ।

टोलीले पोखराको फलिना कोइबोबाट यात्रा सुरु गर्दै बेँसीसहर, घलेगाउँ, भुजुङलगायतका स्थान हुँदै क्होला सोँप्रे ट्हो पुग्ने योजना बनाएको छ। कठिन पदयात्रापछि उक्त स्थल पुगेर टोलीले त्यहाँको सिमेभुमे र पितृपुर्खाहरूको सम्मानमा छ्योप र थासोँ पूजा गर्नेछ तथा स्थलगत अध्ययन र अवलोकन गर्नेछ। त्यसपछि टोली सिक्लेस गाउँतर्फ प्रस्थान गर्नेछ, जहाँ स्थानीय समुदायसँग अन्तरक्रिया र सांस्कृतिक संरचनाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

तमु शास्त्र ‘पे’ अनुसार क्होला सोँप्रे ट्हो तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलो मानिन्छ। सन् 2000 तिर क्याम्ब्रिज विश्वविद्यालय र नेपालको पुरातत्व विभागले गरेको उत्खनन क्रममा फेला परेको कोइलाको परीक्षण गर्दा यो स्थल करिब 13 सय वर्ष पुरानो भएको प्रमाणित भएको थियो। तर देशको द्वन्द्वकालीन परिस्थितिका कारण बीचमै रोकिएको उत्खनन कार्यलाई पुनः गति दिन, यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन र राज्यलाई दबाब दिने उद्देश्यले यो भ्रमण तय गरिएको आयोजकले जनाएका छन्।

सिटीजन फनिच्रर

उक्त थलोको ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी ‘क्होला सोँप्रे ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्य राखेको तमु प्ये ल्हु संघ यूकेका सचिव भेग गुरुङले बताए।

भ्रमण सम्पन्नपछि पोखरामा विशेष समारोह आयोजना गरिनेछ। उक्त कार्यक्रममा स्याङ्जा, कास्की, गोर्खा, तनहुँ, चितवन र नवलपुरका दश वटा निर्माणाधीन कोइबोहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिनेछ। साथै सांस्कृतिक कार्यक्रममार्फत तमु समुदायको परम्परा प्रस्तुत गरिनेछ।

भ्रमणमार्फत विश्वभर रहेका तमु समुदायलाई आफ्नो मौलिक जरा र पहिचानसँग जोड्ने तथा क्होला सोँप्रे ट्होलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले बताए। गुरुङ समुदायको कला, संस्कृति र परम्पराको संरक्षण गर्न सके नेपालको पर्यटन समेत प्रवर्द्धन हुने संघका महासचिव हर्क गुरुङले बताए।

पदयात्राको क्रममा कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा स्वास्थ्यकर्मी, प्राथमिक उपचारक र आपतकालीन उद्धारका लागि हेलिकोप्टरसम्मको प्रबन्ध मिलाइएको आयोजकले जनाएका छन्।

तमु प्ये ल्हु संघ केन्द्रीय समिति, कास्की र लमजुङ जिल्ला समिति तथा भुजुङ र सिक्लेसका स्थानीयवासीले यस ऐतिहासिक भ्रमणको व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ।

हेम्जा आलु महोत्सव
अनिल multipurpose