पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको महेन्द्रपुलमा मंगलबारदेखि स्टोर सञ्चालनमा ल्याएको हो।
स्टोरको उद्घाटन टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले गरे ।
महेन्द्रपुल चोकमा सञ्चालनमा आएको स्टोरमा शाओमीका स्मार्टफोन, एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मोनिटरलगायत स्मार्ट होमका सामग्री उपलब्ध रहेको स्टोर सञ्चालक मनोहर श्रेष्ठले बताए । ग्राहकले शाओमीका विभिन्न उत्पादन एउटै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्ने उनले बताए ।

स्मार्टफोन बिक्रीमा मात्र सीमित नभई शाओमीका विभिन्न प्रविधि र उत्पादन उपभोक्तामाझ पुर्याउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउँदै दैनिक जीवन सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले विस्तार गर्ने कार्यकारी निर्देशक अग्रवालले बताए । टेलिडाइरेक्टले यस स्टोरमार्फत खुद्रा बजार विस्तारलाई अघि बढाएको उनले बताए । पोखरामा सञ्चालनमा आएजस्तै स्टोर अन्य प्रदेशका सहरमा पनि विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो ।
स्टोर शुभारम्भको अवसरमा होम अप्लायन्सेसका सामग्रीमा १० प्रतिशत र टिभीमा १५ प्रतिशतसम्म छुट दिइएको सञ्चालक श्रेष्ठले बताए । स्मार्टफोन खरिदमा पनि विभिन्न अफर उपलब्ध रहेको उनले जानकारी दिए ।




