पोखरा । स्याङ्जाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको करिब ३० प्रतिशतमात्रै वित्तीय प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महिना अर्थात चैत्र महिना सकिदासम्म विनियोजित बजेटको चालु र पुँजीगत खर्चको करिब ३० प्रतिशत वित्तीय प्रगति देखिएको हो ।
विनियोजित कुल ४१ करोड १९ लाख ५० हजार बजेटमध्ये १२ करोड ३१ लाख ५४ हजार खर्च हुँदा कार्यालयको वित्तीय प्रगति ३० प्रतिशत देखिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ३२ दशमलब ४३ र पुँजीगततर्फ २९ दशमलब ६७ प्रतिशत खर्च हुँदा समग्रमा वित्तीय प्रगति २९ दशमलब ९० प्रतिशत देखिएको कार्यालयले जनाएको छ ।
चालुतर्फको तीन करोड ४२ लाख ५० हजारमध्ये एक करोड ११ लाख ७ हजार खर्च भएको छ भने पुँजीगततर्फ ३७ करोड ७७ लाख कुल बजेटमध्ये ११ करोड २० लाख ४७ हजार खर्च भएको छ । वित्तीय प्रगति ३० प्रतिशतको हाराहारीमा देखिएको कार्यालयको भौतिक प्रगति भने ६० प्रतिशत रहेको डिभिजन प्रमुख किरण पौडेलले जानकारी दिए ।
‘प्रत्येक ३÷३ महिनामा २० प्रतिशतका दरमा आर्थिक वर्षको पहिलो ९ महिनामा वित्तीय र भौतिक गरी दुबैतर्फ ६० प्रतिशत प्रगति देखिनु पथ्र्यो ।’ प्रमुख पौडेलले भने, ‘वित्तीय प्रगति नदेखिएपनि भौतिक प्रगति लक्ष्य अनुसार भएको छ ।’ वर्षको सुरुवात भएको र अन्तर्राष्ट्रिय द्धन्द्धले वित्तीय प्रगति सुस्त देखिन्छ । तर, अव सबै क्षेत्र सकारात्म भएमा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति क्रमिश रुपमा बढ्दै जाने प्रमुख पौडेलले बताए ।

स्याङ्जा र कास्की गरी दुई जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले ३७ करोड ७७ लाखको लागतमा ३४७ योजनाहरु संचालन गरेको छ । स्याङ्जातर्फ २६ करोड १२ लाखमा २२८ वटा योजना संचालनमा ल्याएको कार्यालयले कास्की जिल्लातर्फ ११ करोड ३५ लाखको लागतमा ११४ वटा र ३० लाखको लागतमा ५ वटा संयुक्त जिल्लामा गरी ३४७ खानेपानीका योजना कार्यान्वयनमा रहेको जनाएको छ ।
स्याङ्जामा संघ विशेष अनुदानतर्फ एक करोड २० लाखको एक, मर्मतसम्भार तथा प्रणाली सुदढिकरणमा तीन करोड १८ लाखको ४८, क्रमागत आयोजनामा १० करोड ६३ लाखका १३५, बहुवर्षीय तथा श्रोत सुनिश्चितमा १० करोड ६१ लाखको ४३ र खानेपानी सेवा विस्तार तथा पुनस्र्थापनामा ५० लाख लागतको एक गरी २६ करोड १२ लाखको लागतमा २२८ खानेपानीका योजनाहरु संचालन गरेको कार्यालय इन्जिनियर आशिष कार्कीले जानकारी दिए ।
त्यसैगरी कास्की जिल्लाका लागि संघ विशेष अनुदानतर्फ ३५ लाखको एक, मर्मतसम्भार तथा प्रणाली सुदढिकरणमा तीन करोड एक लाखको ४२, क्रमागत आयोजनामा चार करोड ४२ लाखका ५२, बहुवर्षीय तथा श्रोत सुनिश्चितमा दुई करोड ३२ लाखको ५२, संघको सशर्त ५० लाखको एक, जलवायु अनुकुलित ५० लाखको एक र खानेपानी सेवा विस्तार तथा पुनस्र्थापनामा २५ लाख लागतको एक गरी ११ करोड ३५ लाख बजेटमा ११४ योजनाहरु संचालनमा ल्याएको छ ।
दुबै जिल्लामा संचालनमा रहेका अधिकांश योजनाहरु अन्र्तगत खानेपानी ट्यांकी र धारा जडान गर्ने कार्य तीव्र रुपमा भइरहेको कार्यालय सूचना अधिकारी तथा इन्जिनियर कमल बरालले जनाए । तोकिएकै समयसिमा भित्र योजना सम्पन्न गर्न ठेक्का लगाएका र समितिमार्फत निर्माण भइरहेको योजनाहरुको काम सक्नेगरी कार्यालयले समन्वय गरिरहेको इन्जियिनर बरालले बताए । चालु आर्थिक वर्षमा करिब ३५ सय खानेपानीका नयाँ धारा जडान गर्ने कार्यालयले लक्ष्य लिएको छ ।





