newa srijana

शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा  । एसइईमा वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै पोखरामा अब्बल विद्यालयका रूपमा स्थापित शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरु गरेको छ। विद्यालयले यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो। पोखरा–५, पस्र्याङमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको शान्ति निकेतनमा पहिलो वर्षमै १२० जना विद्यार्थी भर्ना भएका छन्।

विज्ञान संकायतर्फ ८० जना र व्यवस्थापनतर्फ ४० जना सिट छुट्याइएकोमा लक्ष्यअनुरूप उच्चतम् ४ जीपीए प्राप्त गरेकासहित स्तरीय विद्यार्थी भर्ना भएको संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिनुभयो। विज्ञान विषयका कक्षा प्रातः र दिवा तथा व्यवस्थापनका कक्षा दिवा सत्रमा सञ्चालन हुने गरी व्यवस्थापन मिलाइएको विद्यालयले जनाएको छ। निकट भविष्यमै मानविकी लगायतका संकाय थप गर्ने योजना पनि विद्यालयले बनाएको छ।

विद्यालयले नवआगन्तुक विद्यार्थीलाई सपथ खुवाउँदै स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले विद्यार्थीका लागि इमान्दारिता र मेहनत अपरिहार्य रहेको बताउनुभयो।

‘जीवनमा के बन्ने भन्ने लक्ष्य निर्धारण गर्नुपर्छ। त्यसमा सफल हुनका लागि मेहनत अत्यन्त जरुरी छ। इमान्दार बन्ने, मेहनत गर्ने, जिन्दगीमा सफल हुने। यही मूलमन्त्रका साथ अघि बढ्नुपर्छ,’ प्रा.डा. खत्रीले भन्नुभयो।

जुनसुकै विषय लिएर अध्ययन गरे पनि उत्कृष्ट बन्न सके त्यस क्षेत्रमा सफल हुन सकिने उहाँले बताउनुभयो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोम भण्डारीले शान्ति निकेतन स्कुलका गतिविधिलाई नजिकबाट नियालिरहेको बताउँदै पोखराभित्रका विद्यालयमध्ये उत्कृष्ट नतिजाका कारण विद्यालय अग्रणी स्थानमा रहेको बताउनुभयो।

‘शान्ति निकेतनले एसइईसम्म हासिल गरेको उपलब्धिलाई कक्षा ११ र १२ मा पनि निरन्तरता दिनेमा पूर्ण विश्वास छ,’ भण्डारीले भन्नुभयो।

शान्ति निकेतनका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले अत्याधुनिक भौतिक संरचनाभित्र रहेर नवीनतम् प्रविधिको प्रयोगमा जोड दिँदै स्तरीय शैक्षिक सेवा प्रदान गरिने बताउनुभयो। आफ्नो गौरवमय इतिहास र विरासतलाई निरन्तरता दिँदै समावेशी तथा समतामूलक समाज निर्माणका लागि विद्यार्थी केन्द्रित शिक्षा प्रणालीमा विद्यालयले विश्वास राख्ने उहाँको भनाइ थियो।

विद्यालयका बोर्ड अफ डाइरेक्टर किरण सापकोटाले शान्ति निकेतनको गरिमालाई अझ प्रतिष्ठित बनाउने गरी मेहनत गर्न विद्यार्थीलाई उत्प्रेरित गर्नुभयो।

World link net

‘पहिलो ब्याचका विद्यार्थी बन्नु सौभाग्यशाली क्षण हो। विद्यार्थीले यो दुई वर्ष निकै मेहनत गरेर पढाइमा ध्यान दिनुपर्नेछ,’ सापकोटाले भन्नुभयो, ‘सपनाको विजारोपण गरेको पहिलो वर्षमै यति धेरै माया र विश्वासका साथ अभिभावकले आफ्ना छोराछोरी पठाउनुभएको छ। विद्यार्थीले शान्ति निकेतनलाई रोजाइमा पारेका छन्। यो खुसीको विषय हो।’

कक्षा १२ को नतिजामा उत्कृष्टताका आधारमा नेपालमै अब्बल विद्यालय प्रतिभा माविका प्राचार्यसमेत रहनुभएका सापकोटाले प्रतिभा र शान्ति निकेतन ‘जोइन्ट भेन्चर’ का रूपमा रहेकाले दुवैतर्फ समानस्तरको पढाइ हुने बताउनुभयो।

‘हरेक शैक्षिक गतिविधि साझा रूपमा अघि बढ्नेछन्। शिक्षकहरू अनुभवले खारिएका छौँ, मेहनतले तिखारिएका छौँ,’ सापकोटाले भन्नुभयो, ‘विद्यालयबाट कुनै कमजोरी हुने छैन। विद्यार्थीका तर्फबाट आफ्नो जात, धर्म, आर्थिक अवस्था वा सामाजिक अवस्थाका कारण प्रगतिको सपना देख्नबाट कुनै छोराछोरी रोकिनु हुँदैन। सगरमाथा नचढुन्जेल अग्लो लाग्ने हो। सगरमाथा छुने सपना पाल्नू।’

गण्डकी बोर्डिङ स्कुलका पूर्व प्राचार्य रबि बरालले शान्ति निकेतन स्कुलले पोखराको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएको उल्लेख गर्दै शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

अभिभावकका तर्फबाट डिज्नील्याण्ड स्कुलका संस्थापक प्राचार्य नरेशप्रसाद बरालले प्रत्येक वर्षको एसइई नतिजाले शान्ति निकेतनलाई अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित गरेको बताउँदै आगामी दिनमा पनि उस्तै नतिजाको अपेक्षासहित आफ्नी छोरीलाई शान्ति निकेतनमा भर्ना गरेको जानकारी दिनुभयो।

शान्ति निकेतन स्कुलबाटै उच्चतम् ४ जीपीए ल्याएर विद्यालयलाई निरन्तरता दिएका सखिम भण्डारीले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको माया र प्रेरणा तथा अझ सुविधासम्पन्न भौतिक संरचनाका कारण विद्यालय छाड्न नसकेको बताउनुभयो। उहाँलाई सो अवसरमा सम्मानसमेत गरिएको थियो।

नवआगन्तुक विद्यार्थीका तर्फबाट खुशी अधिकारीले पहिलो ब्याचका रूपमा भर्ना हुन पाउँदा खुसी लागेको बताउँदै कडा मेहनतका साथ अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। १३ वर्षको कलिलो उमेरमै एसइईमा उत्कृष्ट नतिजा (ए प्लस) ल्याएर उत्तीर्ण भएका पर्वतका विवेक शर्मा पनि शान्ति निकेतनमै कक्षा ११, विज्ञान संकायमा भर्ना हुनुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुत्र्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने परीक्षा विभाग प्रमुख हेम सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यसैबीच, चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले आफ्ना लोकप्रिय गीतमार्फत नवआगन्तुक विद्यार्थी र अभिभावकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।

सिटीजन फनिच्रर