पोखरा । देशका तीन प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा आबद्ध गर्ने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको छ। तीन स्थानीय तहले संयुक्त रूपमा पर्यटन प्रवर्द्धन, एकीकृत पर्यटन प्याकेज विकास, वार्षिक ट्राभल मार्ट आयोजना तथा अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी विस्तारमा सहकार्य गर्ने गरी समझदारी गरेका छन्।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित पोखरा भ्रमण वर्षको संयोजनमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरे।
समझदारीअनुसार तीनै स्थानीय तहले आफ्नो वार्षिक नीति, योजना तथा बजेटमा ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई समावेश गर्नेछन्। सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो रूपमा तीनै स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ।
सम्झौतामा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट)’ आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसाय–व्यवसाय (बीटूबी) तथा सरकार–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ।

समझदारीअनुसार पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर एकीकृत पर्यटन प्याकेज विकास गरिनेछ। तीनै गन्तव्यको प्रचारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन तथा वितरण गरिनेछ। प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि अघि सारिएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखरा, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन परिपथमा जोडेर आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि र खर्च बढाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए।
“सिल्भर ट्रयाङ्गललाई जोड्न संयुक्त लोगो, क्यालेन्डर तथा यातायात सञ्चालनका लागि व्यवसायीसँग सहकार्य गरिनेछ र उक्त सहकार्य दीर्घकालीन पर्यटन विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण कदम हो,” भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले तीनवटै गन्तव्यलाई जोड्ने गरी आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिने समझदारी ऐतिहासिक भएको बताए। सिल्भर ट्रयाङ्गल अवधारणाले पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्ने बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले “अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पर्यटकको बसाइ अवधि लम्बिने र पर्यटन क्षेत्रले थप लाभ लिन सक्ने तथा पर्यटनका आकर्षक गन्तव्य र गतिविधिलाई एकीकृत गरी पर्यटन प्याकेज विकास गर्नुपर्ने र डिजिटल माध्यमबाट प्रभावकारी प्रवर्द्धन र ब्रान्डिङमा जोड दिनुपर्ने” बताए।
पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईले आजको विश्व पर्यटन बजारले एकल गन्तव्यभन्दा बहुआयामिक अनुभव खोजिरहेको उल्लेख गर्दै पोखरा, लुम्बिनी र भरतपुरलाई एउटै पर्यटन परिपथका रूपमा विकास गर्ने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए।

समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग संयुक्त समन्वय गर्ने विषय पनि समावेश गरिएको छ।




