पोखरा । सूचना प्रविधिको विस्तारसँगै बढ्दै गएको साइबर अपराधप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आधुनिक सूचना सञ्चार प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
ढिकुरपोखरी समाज पोखराको आयोजना तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सूचना तथा सञ्चार प्रविधिको विस्तारसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको उल्लेख गर्दै सुरक्षित डिजिटल अभ्यास आवश्यक रहेको बताए। उनले सामाजिक सञ्जाल, मोबाइल बैंकिङ तथा अन्य डिजिटल माध्यमको प्रयोग बढेसँगै व्यक्तिगत तथा संस्थागत डेटा सुरक्षामा चुनौती थपिएको उल्लेख गर्दै अनलाइन ठगी तथा साइबर जोखिमबाट बच्न सबैले सचेत रहनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, इमेल तथा अन्य डिजिटल माध्यम प्रयोग गर्दा व्यक्तिगत विवरण सुरक्षित राख्ने, बलियो पासवर्ड प्रयोग गर्ने तथा अनलाइन ठगीबाट बच्ने उपायबारे जानकारी दिँदै प्रशिक्षकका रूपमा सहजीकरण गर्दै वरिष्ठ नायब निरीक्षक होमबहादुर रोयलले डिजिटल सुरक्षाप्रति विशेष सचेत हुनुपर्ने बताए।
उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै व्यक्तिगत तथा संस्थागत डेटा सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। साथै सुरक्षित डिजिटल अभ्यास अपनाउन नसके अनलाइन ठगी, डेटा चोरी तथा अन्य साइबर अपराधको जोखिम बढ्ने भएकाले सबै प्रयोगकर्ता सतर्क रहनुपर्नेमा जोड दिए।
साइबर सुरक्षा, डिजिटल सचेतना तथा सुरक्षित प्रविधि प्रयोगसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको ढिकुरपोखरी समाजका अध्यक्ष लक्ष्मी अधिकारीले बताइन्। उनले यस्ता कार्यक्रमले डिजिटल साक्षरता अभिवृद्धि हुनुका साथै सुरक्षित प्रविधि प्रयोगबारे सचेतना बढाउन सहयोग पुग्ने उल्लेख गरिन्।
कार्यक्रमको सञ्चालन सचिव गणेश प्रसाद अधिकारीले गरेका थिए। कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको थियो।




