newa srijana

पोखरामा चोरी गर्न काठमाडौंबाट चोर आउन थाले, एउटै घरबाट ५० तोला सुन चोरी : एसपी कार्की

पोखरा । कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले पछिल्लो समय पोखरामा चोरीका घटना बढ्दै गएको र ठूला चोरीका घटनामा काठमाडौंबाट आएका व्यक्तिहरूको संलग्नता देखिएको बताएका छन्।

नुवारथोक टोल विकास संस्था, पोखरा–७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं. ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी कार्कीले यस्तो बताएका हुन्।

कार्यक्रममा स्थानीयवासीले पोखरामा पछिल्लो समय चोरीका घटना बढेको गुनासो गरेका थिए। त्यसको जवाफ दिँदै एसपी कार्कीले हालका चोरीका घटनाको अध्ययन गर्दा काठमाडौंबाट पोखरा आएर चोरी गर्ने र पुनः काठमाडौं फर्किने प्रवृत्ति देखिएको बताए।

उनले चोरीको नयाँ शैली र प्रवृत्ति देखा पर्दा अनुसन्धान गर्न प्रहरीलाई बढी समय लाग्ने गरेको उल्लेख गरे। सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हुने भन्दै उनले स्थानीयवासीलाई सचेत रहन आग्रह गरे। टोल–टोलमा सीसीटीभी क्यामेरा जडान गर्ने, सडक बत्ती व्यवस्थापन गर्ने जस्ता कार्यमा स्थानीयको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।

एसपी कार्कीले पोखरामा एउटै घरबाट ५० तोला सुन चोरी भएको घटना उल्लेख गर्दै ठूलो मात्रामा सुन तथा बहुमूल्य गरगहना घरमा नराख्न आग्रह गरे। उनले यस्ता सामग्री सुरक्षित लकरमा राख्न सुझाव दिए। साथै, महिलाहरूलाई अत्यधिक सुनका गरगहना लगाएर बाहिर ननिस्कन पनि अनुरोध गरे।

पछिल्लो समय सुनको मूल्य बढ्दै गएकाले चोरी गर्नेहरूको ध्यान सुनतर्फ आकर्षित भएको उनको भनाइ थियो। सुनका कारण ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सचेत हुन उनले आग्रह गरे।

World link net

कार्यक्रममा पोखरा–७ का वडा अध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिकाले वडाहरूलाई उज्यालो र सुरक्षित बनाउने अभियान सञ्चालन गरिरहेको बताए। उनका अनुसार महानगरले मुख्य चोक–चोकमा सीसीटीभी क्यामेरा जडान गर्ने योजना अघि बढाएको छ।

चोरी नियन्त्रणका लागि स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले टोलमा समय–समयमा गस्ती सञ्चालन गर्नुपर्ने बताए।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले टोलमा नयाँ व्यक्ति आएमा निगरानी राखेर आवश्यक जानकारी प्रहरीलाई दिन आग्रह गरे। शान्ति सुरक्षा कायम गर्न प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले घरमा सीसीटीभी क्यामेरा, अटोमेटिक बत्ती लगायतका सुरक्षा उपकरण जडान गर्न सुझाव दिए। घर छाडेर बाहिर जाँदा छिमेकीलाई जानकारी गराएर घरको निगरानी गर्न लगाउनुपर्ने पनि उनले बताए।

धेरै मानिसले दराज वा घरभित्रै गरगहना राख्ने गरेको उल्लेख गर्दै उनले त्यसले चोरीको जोखिम बढाउने बताए।

कार्यक्रममा सहभागी स्थानीयवासीले टोल–टोलमा गस्ती बढाउन, सीसीटीभी क्यामेरा तथा सडक बत्ती जडान गर्न, लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न तथा बिहान–साँझ महिलाहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्न सुझाव दिएका थिए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल तथा नुवारथोक टोल विकास समिति, पोखरा–७ का अध्यक्ष दामोदर बराललगायतले समाजमा शान्ति सुरक्षा कायम राख्न र चोरीका घटना न्यूनीकरण गर्न समुदाय र प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताएका थिए।

सिटीजन फनिच्रर