newa srijana

सौराहबाट ‘जाउँ है पोखरा’ अभियान सुरु

पोखरा । यस वर्षको ‘जाउँ है पोखरा’ अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ।

कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियानअन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे। तीनदिने अभियानअन्तर्गत भैरहवा र पाल्पा पनि समेटिने छन्। होटल संघ पोखरा नेपालको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको सहआयोजना तथा प्रवर्द्धनमा यो अभियान सञ्चालन गरिएको हो।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार मान्दै २५ वर्षअघि यो अभियान सुरु गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पर्यटनको राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने त्रिकोणीय पर्यटन प्रवर्द्धनको उद्देश्यसमेत अभियानले लिएको अध्यक्ष सुवेदीले बताए।

कालीका नगरपालिकाका प्रमुख रेग्मीले आफ्नो नगरले कृषि पर्यटनमा जोड दिएको बताए। सबैभन्दा धेरै मह र च्याउ उत्पादन गर्ने नगरपालिका कालीका भएको दाबी उनले गरे।

होटल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अनुकरणीय अभियान भएको बताए। सिल्भर ट्र्याङ्गलको अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्याकेज विकासको प्रस्ताव उनले राखे।

World link net

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले सिल्भर ट्र्याङ्गलको अवधारणा पुनः अगाडि बढाइएको स्मरण गराए। ‘जाउँ है पोखरा’ अभियानसँग बोर्ड सुरुआती समयबाटै जोडिएको उनले जानकारी गराए।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवनका पर्यटकीय क्षेत्रबारे अवगत गराए। पर्यटकलाई सहज हुने खालका नीति सरकारले ल्याउनुपर्ने सुझाव उनले राखे।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नयाँ पदमार्गहरूको खोजी, उत्थान र प्रवर्द्धनमा आफ्नो संस्था लागिरहेको जानकारी दिए। पर्यटनलाई भिन्न र नयाँ ढंगले अगाडि बढाउनुपर्ने अवस्था आएको उनले बताए।

कार्यक्रममा पर्यटन विज्ञ विश्व सुवेदीले दामोदर कुण्ड र त्रिवेणी धाम जोड्ने गरी हरिहर परिक्रमा पथ विकासको प्रस्ताव राखे।

कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवाल र रत्ननगर नगरपालिका–७ का वडा सदस्य सूर्यबहादुर तामाङले पनि कार्यक्रममा आफ्नो भनाइ राखेका थिए। कार्यक्रमको सञ्चालन आयोजक संघका सचिव पार्वती पाण्डेले गरेकी थिइन्।

सिटीजन फनिच्रर