newa srijana

गण्डकीका पाँच अग्रज पत्रकार सम्मानित

पोखरा । गण्डकी प्रदेशका पाँच जना अग्रज पत्रकारलाई नगदसहित सम्मान गर्दै गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकारितामा दीर्घ योगदान पुर्‍याएका व्यक्तित्वको सम्मान तथा अभिलेखीकरण अभियान सुरु गरेको छ। शनिबार पोखरामा आयोजित ‘गण्डकी मिडिया समिट–२०८३’ तथा अग्रज पत्रकार सम्मान समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा पोखराका स्वर्गीय केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई जनही ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सम्मान गरे।

तीन दिनअघि ९१ वर्षको उमेरमा निधन भएका स्वर्गीय पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरेका थिए। सोही अवसरमा सम्मानित पाँचै पत्रकारको योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तकसमेत विमोचन गरिएको थियो।

जनमत दैनिकका संस्थापक तथा सम्पादक पराजुली स्वतन्त्रता सेनानीसमेत थिए। पोखरेली नवरत्नबाट सम्मानित उनी पत्रकारितामार्फत सामाजिक परिवर्तनमा सक्रिय थिए। उनले लेखेको एउटा समाचारकै आधारमा पृथ्वीनारायण क्याम्पसले जग्गा प्राप्त गरेको इतिहास रहेको उल्लेख गरियो।

सम्मानित अर्का पत्रकार तिलकमान गुभाजू हाल आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन्। २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिकाबाट पत्रकारिता यात्रा सुरु गरेका उनले पछि ‘राष्ट्र पुकार’ साप्ताहिकमार्फत पत्रकारितालाई निरन्तरता दिएका थिए। बौद्ध दर्शनका अध्येता गुभाजू गत वर्ष पोखरेली नवरत्न सम्मानबाट पनि सम्मानित भएका थिए।

२०१४ सालमा जन्मिएका प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’का रूपमा चिनिन्छ। तीन दशकभन्दा बढी समयदेखि नवलपुरमा पत्रकारिता गर्दै आएका उनले दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरिसकेका छन्। हाल उनी एभिन्युज टेलिभिजनका संवाददाता हुन्।

पाँच दशकदेखि पत्रकारितामा सक्रिय विश्वबन्धु भण्डारीले पोखराबाट पत्रकारिता सुरु गरी तनहुँमा त्यसलाई निरन्तरता दिएका छन्। २०३९ सालदेखि उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका नियमित रूपमा प्रकाशित हुँदै आएको छ। समाचार लेखनसँगै इतिहास लेखनमा पनि उनको उल्लेखनीय योगदान रहेको छ।

सिटीजन फनिच्रर

पर्वतकी सरस्वती शर्मा जिज्ञासु पत्रकारितासँगै साहित्य र सामाजिक अभियानमा पनि सक्रिय छिन्। उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानमार्फत हालसम्म साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशन हुँदै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताको आधार र मर्मलाई सही रूपमा नबुझ्ने हो भने भविष्यमा मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिए। विगत ३५ वर्षमा देशमा केही पनि नभएको भन्ने धारणा तथ्यपरक नभएको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले सत्य बोल्ने र लेख्ने अधिकार कसैले रोक्न नहुने बताए। प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा अवसर र चुनौती दुवै बढेकाले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबीचको अन्तर नागरिकलाई स्पष्ट रूपमा बुझाउनुपर्नेमा उनले जोड दिए। सरकारका कमीकमजोरी औँल्याएर सुधारका लागि सञ्चारमाध्यमले रचनात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै इतिहास अभिलेखीकरणबाट मात्र जोगिने भएकाले अग्रज पत्रकारको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्ने अभियान सुरु गरिएको बताइन्। संघर्ष, अनुभव र योगदानलाई दस्तावेजीकरण नगरे एउटा पुस्ताको सम्पूर्ण अनुभव हराउँदै जाने भएकाले अग्रज पत्रकारको जीवनयात्रा, अनुभव र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने काम थालिएको उनले जानकारी दिइन्। सत्य, निष्पक्ष, व्यावसायिक र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस रजिष्ट्रारको कार्यालय निरन्तर सक्रिय रहने उनको भनाइ थियो।

सम्मानित पत्रकारका तर्फबाट विश्वबन्धु भण्डारीले सम्मानप्रति आभार व्यक्त गर्दै पत्रकार शासक र जनताबीचको सेतुका रूपमा जिम्मेवार भएर काम गर्नुपर्ने धारणा राखे।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिले सञ्चार क्षेत्र गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको बताए। सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीतिको महासंघले निरन्तर विरोध गर्दै आएको उल्लेख गर्दै उनले पत्रकारको स्वास्थ्य बिमाका लागि विनियोजित बजेट अपेक्षाभन्दा कम भएको गुनासो गरे। नवीकरण हुन नसकेका सञ्चारमाध्यमलाई एकपटकका लागि विशेष छुटसहित नवीकरणको अवसर दिन पनि उनले सरकारसँग आग्रह गरे।

अग्रज पत्रकार छनोटका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासंघका पूर्वअध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल तथा प्रेस रजिष्ट्रार बिमला भण्डारी सदस्य रहेका थिए।

सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रेस रजिष्ट्रार बिमला भण्डारीले गरेकी थिइन् भने सञ्चालन पत्रकार अमृत सुवेदीले गरेका थिए। ‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’ नाराका साथ आयोजित कार्यक्रममा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा दुई छुट्टाछुट्टै सत्रमा वक्ताहरूले गहन छलफल गरेका थिए।

Pokhara learners