पोखरा । पोखराको सेदी क्षेत्रमा घर भाडामा लिएर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको सञ्जालमार्फत २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित जीवन श्रेष्ठको घरमा सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै सात वटा कोठा भाडामा लिएर अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शुक्रबार बिहान छापा मारेको हो।
पक्राउ पर्नेमा दार्चुलाका ३१ वर्षीय दिनेशसिंह बोहरासहित सात जना भारतीय नागरिक रहेका छन्। भारतको भूपा मानपुरका ३४ वर्षीय सत्यम सिंहलाई प्रहरीले सट्टेबाजी सञ्चालन गराउने मुख्य व्यक्तिका रूपमा अनुसन्धान गरिरहेको छ। यस्तै २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले २०८२ चैत १८ गतेदेखि घर भाडामा लिएर टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिङ्क पठाई ग्राहकलाई रकम जम्मा गराउन लगाउने, त्यसपछि दर्ता गरी क्रिकेट, फुटबल तथा क्यासिनोका खेलमा अनलाइन सट्टेबाजी गराउने गरेका थिए। खेलमा विजयी हुने व्यक्तिलाई अनलाइनमार्फत रकम भुक्तानी गर्ने गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको बयानका आधारमा गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ। उनीहरूले भारतीय बैंक खाता तथा डिजिटल वालेटमार्फत सम्पूर्ण आर्थिक कारोबार सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानबाट उक्त केन्द्र भारतीय नेटवर्कको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको तथा त्यहाँ कार्यरत प्रत्येक व्यक्तिले मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको कम्प्युटरमा एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु कार्कीले बताए। प्रारम्भिक हिसाबमै २० करोड रुपैयाँभन्दा बढीको कारोबार देखिएकाले यसमा अन्तरदेशीय संगठित सञ्जालको संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ।
अनुसन्धानका क्रममा एक्सिस बैंक, आइडिएफसी बैंक, क्यानरा बैंक, तेलङ्गाना ग्रामीण बैंक, २४ पे, पे बजार, गुगल पे र नक्सन पेजस्ता बैंक तथा डिजिटल भुक्तानी प्रणाली प्रयोग भएको विवरण पनि फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट सात थान ल्यापटप, छ थान मनिटर, ३१ थान मोबाइल, नौ थान किबोर्ड, चार थान मल्टिप्लग, एक थान १२ भोल्टको ब्याट्री, एक थान युपिएस, दुई थान राउटर, १६ थान चार्जर तथा ३४ थान भारतीय सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद विद्युतीय उपकरण, आर्थिक कारोबार, बैंकिङ विवरण तथा घटनामा संलग्न अन्य व्यक्ति र सञ्जालबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




