चितवन
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रशासनले आज साँझ सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि रातिको समयमा उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
धादिङ लगायत छिमेकी जिल्लाहरू र चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको तथा थप वर्षा हुने पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै प्रशासनले रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा सवारी राख्न आग्रह गरेको छ । साथै, आवागमनमा पर्न गएको असहजता प्रति क्षमायाचना गर्दै आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत निकायसँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।




