newa srijana

बाढी प्रभावित क्षेत्रमा एमालेको संयुक्त युवा टोली परिचालन

एमाले गण्डकी अध्यक्ष शर्माद्वारा राहत सामग्री हस्तान्तरण, १५ सदस्यीय युवा टोली प्रभावित क्षेत्रतर्फ

पोखरा । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटीले संयुक्त युवा टोली परिचालन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, युथ भोलेन्टियर फोर्स र अनेरास्ववियुको संयुक्त टोली राहत सामग्री सहित प्रभावित क्षेत्रतर्फ परिचालन भएको हो ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले टोलीलाई आवश्यक राहत सामग्री हस्तान्तरण गर्दै प्रभावित क्षेत्रमा खटिन निर्देशन दिएका छन् । राहत सामग्री बुझेर टोली नुवाकोट हुँदै रसुवातर्फ प्रस्थान गरेको हो ।

प्रभावित क्षेत्रमा पुगेर स्थानीयको वास्तविक आवश्यकता पहिचान गर्ने, तत्काल आवश्यक राहत तथा उद्धारमा सहयोग गर्ने र पुनर्निर्माणका लागि आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने उद्देश्यले टोली परिचालन गरिएको हो ।

राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ गएको टोली नुवाकोटको देवीघाट पुगेपछि प्रत्यक्ष श्रममा समेत जुटेको छ । टोलीले बाढीका कारण पुरिएको स्थानीयको घर सफा गरी पुनः बस्न मिल्ने अवस्थामा ल्याउन सहयोग गरेको छ । बाढीले घर भित्र थुपारेको माटो, लेदो तथा फोहोर हटाउँदै टोलीका सदस्यहरू स्थानीयको घर सफाइ तथा व्यवस्थापनमा खटिएका थिए ।

 

सिटीजन फनिच्रर

टोलीले देवीघाटबाट बेत्रावती हुँदै रसुवाको धुन्चेसम्म पुगेर बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेर प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी राहत, उद्धार तथा पुनर्निर्माणका लागि आवश्यक सहयोगको योजना बनाइने टोलीले जनाएको छ ।

स्थानीयको आवश्यकताका आधारमा थप युवा जनशक्ति परिचालन गरी पुनर्निर्माणका काममा प्रत्यक्ष सहभागी हुने तयारीसमेत गरिएको छ । टोलीले तत्काल राहत वितरणमा मात्र सीमित नभई प्रभावित क्षेत्रमा आवश्यक पर्ने श्रम, जनशक्ति र स्रोत व्यवस्थापनमा समेत सहजीकरण गर्ने जनाएको छ ।

उद्धार तथा राहत अभियानमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश सचिव किरण ढकाल, युथ भोलेन्टियर फोर्स गण्डकी प्रदेश प्रमुख पानबहादुर जिसी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल, पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति विष्णु पोखरेल र अनेरास्ववियु केन्द्रीय सदस्य डी एन लामिछाने सहित १५ जनाको टोली सक्रिय रहेको छ ।

टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत वितरणसँगै आवश्यक ठाउँमा आफैं श्रम गर्ने र पुनर्निर्माणमा समेत प्रत्यक्ष सहभागी हुने जनाएको छ। आगामी दिनमा प्रभावित क्षेत्रको आवश्यकता र अवस्थाका आधारमा थप युवा परिचालन तथा आवश्यक स्रोत व्यवस्थापनका लागि समन्वय गर्ने छ ।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र स्थानीय जनजीवनलाई सामान्य अवस्थामा फर्काउन युवा जनशक्तिलाई संगठित रूपमा परिचालन गर्ने अभियानलाई एमाले गण्डकीले प्राथमिकतामा राखेको छ ।

Pokhara learners