पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको नयाँ नेतृत्व सर्वसम्मत बनेको छ । आगामी तीन वर्षका लागि अध्यक्ष सहित सबै पदाधिकारीमा एकल उम्मेदवारी परेपछि नेतृत्व निर्विरोध चयन भएको हो ।
तमु धिं नेपालको ४२औं वार्षिक साधारणसभा तथा १७औं महाधिवेशन असोज ९ र १० गते पोखरामा हुँदैछ । महाधिवेशनका लागि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार पदाधिकारी पदमा मनोनयन दर्ता गरिएको थियो । सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यद्यपि निर्वाचित पदाधिकारीको औपचारिक घोषणा महाधिवेशन उद्घाटनका क्रममा असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले बताए ।

निर्विरोध चयन हुनेमा अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा अधिवक्ता जुनाकुमारी गुरुङ, द्वितीय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङ छन् ।
कास्कीको मादी गाउँपालिका–२ ताङतिङका श्रीप्रसाद गुरुङ भारतीय सेनाबाट सुवेदार मेजर पदमा सेवा निवृत्त हुन् । उनी हाल तमु धिं नेपालको वरिष्ठ उपाध्यक्ष छन् यसअघि उनले संस्थाको कोषाध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका छन् उनी तमु धिं नेपालका केन्द्रीय सदस्य समेत भइसकेका छन् । ताङतिङ दुधपोखरी तमु समाज पोखराको नेतृत्व पनि उनले सम्हालिसकेका छन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले लगातार दुई कार्यकाल नेतृत्व गरेपछि नयाँ नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाइएको हो । अग्रज तथा अनुभवी नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने र अन्य पदमा समेत सर्वसम्मति कायम गर्ने प्रयास सफल भएपछि निर्वाचनमा प्रतिस्पर्धा नहुने अवस्था बनेको हो ।
२०४२ जेठ ५ गते स्थापना भएको तमु धिं नेपालको १७औं महाधिवेशनका लागि संस्थापक उपाध्यक्ष शंकर गुरुङको प्रमुख निर्वाचन अधिकृतत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिमा पूर्वउपाध्यक्ष अधिवक्ता अनिता गुरुङ, पूर्वमहासचिव रुद्रकुमारी गुरुङ ‘मैना’, संरक्षक परिषद्का सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ र समाजसेवी क्या. चन्द्रप्रसाद गुरुङ सदस्य छन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्नेछ ।




