पोखरा । पोखरा महानगरपालिका १८ का वडाध्यक्ष एवं जनप्रतिनिधि शिवप्रसाद तिमिल्सिनाले नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ अन्तर्गत प्रदेश सभा ‘क’को सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनको दाबीपछि क्षेत्रीय सचिव मेखबहादुर तामाङसँग प्रदेश ‘क’को नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ ।
सराङकोटको स्थानीय राजनीति र सामाजिक गतिविधिमा लामो समयदेखि सक्रिय तिमिल्सिना २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पोखरा–१८ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित जनप्रतिनिधिका रूपमा वडा तहको विकास र स्थानीयका समस्या समाधानमा काम गर्दै आएका उनी अहिले पार्टी संगठनको नेतृत्वमा पनि आफ्नो भूमिका विस्तार गर्न अघि सरेका हुन् ।
तिमिल्सिनाको राजनीतिक सक्रियता भने निर्वाचित जनप्रतिनिधि बन्नु अघि देखिकै रहेको उनका समर्थकहरू बताउँछन् । समाज बुझ्न थालेदेखि नै सामाजिक सेवा र राजनीतिक गतिविधि मार्फत स्थानीयका समस्या तथा आवश्यकतासँग जोडिँदै आएको उनीहरूको भनाइ छ ।
सराङकोटका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयका सुखदुःखमा साथ दिँदै आएको र विकास निर्माणका विषयमा सबै पक्षसँग सहकार्य गर्दै आएको समर्थकहरूको दाबी छ । उनीहरूका अनुसार तिमिल्सिनाका लागि राजनीति पद वा प्रतिष्ठा प्राप्त गर्ने माध्यम भन्दा पनि जनताको सेवा र स्थानीय विकासमा योगदान गर्ने माध्यमका रूपमा रहँदै आएको छ ।

विकासका विषयमा राजनीतिक मतभेदभन्दा सहकार्य र समन्वयलाई प्राथमिकता दिने तिमिल्सिनाको धारणा रहेको समर्थकहरू बताउँछन् । जनहितका सकारात्मक काममा प्रतिपक्षसँग समेत सहकार्य गर्ने तर जनहितविपरीतका निर्णय र प्रवृत्तिविरुद्ध भने स्पष्ट रूपमा उभिने उनको शैली रहेको उनीहरूको भनाइ छ ।
सामाजिक समावेशितालाई पनि तिमिल्सिनाको राजनीतिक यात्राको एउटा आधारका रूपमा प्रस्तुत गरिएको छ । जात, धर्म, वर्ण वा लिङ्गका आधारमा विभेद नगरी सबैसँग समान व्यवहार गर्दै आएको उनका समर्थकहरूको दाबी छ । यही कारण उनको राजनीतिक सम्बन्ध वडा र सराङकोट क्षेत्रको स्थानीय सामाजिक दायराभन्दा बाहिर पनि विस्तार भएको उनीहरूको भनाइ छ ।
उता, प्रदेश सभा ‘क’को सभापतिका लागि क्षेत्रीय सचिव मेखबहादुर तामाङले पनि आफ्नो दाबी अघि सारेका छन् । पार्टी संगठनमा सक्रिय तामाङ र निर्वाचित जनप्रतिनिधि तिमिल्सिनाबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएपछि कास्की–३ ‘क’को सभापति चयनलाई स्थानीय कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।
प्रदेश ‘क’को सभापति चयनका लागि सर्वसम्मतिको प्रयास हुने भए पनि सर्वसम्मत हुन नसकेमा सम्बन्धित प्रतिनिधिहरू मार्फत मतदानबाट नेतृत्व चयन हुनेछ । त्यसैले नेतृत्वको अन्तिम टुंगो प्रतिनिधिहरूको निर्णयबाट लाग्नेछ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका रूपमा काम गरिरहेका तिमिल्सिनाको पार्टी संगठनमा नेतृत्वका लागि आएको दाबी र क्षेत्रीय सचिव तामाङको उम्मेदवारीले कास्की–३ ‘क’को नेतृत्व चयनलाई प्रतिस्पर्धात्मक बनाएको छ ।




