newa srijana

पाेखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

पाँच दिनभित्र प्रतिवेदन बुझाउने, सवारीसाधनको सुरक्षाबारे सुझाव पनि दिने

पोखरा। पोखरा–२८ ओख्लेभीरमा शुक्रबार बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले पाँच सदस्यीय समिति गठन गरेको छ।

दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरिएको नगरप्रमुख धनराज आचार्यले बताए। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी छन् भने सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन्।

सिटीजन फनिच्रर

दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा समितिलाई तोकिएको छ। दुर्घटनाको वस्तुस्थिति पहिचानका साथै विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र यस्ता दुर्घटना रोक्न अपनाउनुपर्ने उपायबारे सुझाव दिने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले बताएको छ।

विद्यार्थीको सुरक्षित आवागमन सुनिश्चित गर्न विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको पालना र प्रभावकारी अनुगमन आवश्यक रहेको नगरप्रमुख आचार्यले बताए। उनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरे।

Rabin photo