newa srijana

लान्द्रुकमा कात्तिक ६ गतेदेखि दसैँ मेला

क्युप्चे बराह युवा क्लबको वार्षिकोत्सवमा भलिबल, घोडादौड र सांस्कृतिक कार्यक्रम हुने

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा कात्तिक ६ देखि १० गतेसम्म ‘गन्तव्य लान्द्रुक दसैँ मेला २०८३’ हुने भएको छ।

क्युप्चे बराह युवा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा २७औँ वार्षिकोत्सवको अवसरमा पुरुष तथा प्रौढ भलिबल, घोडादौड र सांस्कृतिक कार्यक्रमसहित मेला गर्ने जानकारी दिएको हो। लान्द्रुक खेलमैदानमा हुने मेलामा रस्साकस्सी, भाले झिक्ने, छेलो फाल्ने, मेच घुमाइ, घैँटो फुटाइ र बेलुन फुटाइ प्रतियोगिता पनि हुनेछन्। हरेक साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबले बताएको छ।

दसैँको शुभकामना आदानप्रदानसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विनय गुरुङले बताए। “खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत युवाबीच भाइचारा, सद्भाव र मेलमिलाप बढाउनुका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने लक्ष्य छ,” उनले भने, “मेला व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग चाहिन्छ।”

सिटीजन फनिच्रर

पुरुष भलिबल प्रतियोगिताका विजेताले ७५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेताले ५० हजार, तेस्रो हुने टोलीले २५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक विष्णु चापागाईंले बताए। घोडादौडमा पहिलो हुनेले ४५ हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र चौथो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्। प्रौढ भलिबलका पहिलो र दोस्रो टोलीले खसी, रस्साकस्सीका विजेताले नगद, भाले झिक्नेका विजेताले भाले र छेलो फाल्नेका विजेताले नगदसहित भाङ्ग्रा पाउने उनले बताए ।

पुरुष भलिबलमा सहभागी हुन छ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। घोडादौड, प्रौढ भलिबल र रस्साकस्सीमा सहभागी हुन प्रत्येकले पाँच हजार रुपैयाँ तिर्नुपर्ने क्लबले जनाएको छ। क्लबले विभिन्न ठाउँका खेलाडी तथा कलाकारलाई सहभागी हुन आह्वान गरेको छ।

मेलाका लागि आवश्यक सहयोग वडा र पालिकाले गर्ने अन्नपूर्ण गाउँपालिका वडा नं -७ का वडाध्यक्ष भरतमान गुरुङले बताए। मेलाले लान्द्रुकको पर्यटन विकासदेखि खेलाडी उत्पादनसम्म सघाउने र राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुग्ने उनले बताए।

उत्कृष्ट खेलाडीलाई जिल्ला तथा क्षेत्रीयस्तरको छनोटमा सहभागी गराउन सम्बन्धित निकायसँग समन्वय गरिने क्लबले जनाएको छ। मेलामा सहयोग गर्ने व्यक्ति तथा संस्था, प्रायोजक, भलिबल प्रशिक्षक र खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।

क्लबले यसअघि नेपालमै पहिलोपटक मह सिकार महोत्सव आयोजना गरेको र त्यसलाई निरन्तरता दिँदै आएको जनाएको छ। गाउँको पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको क्लबले दसैँ मेलालाई पनि त्यसैको निरन्तरता दिन लागेको हो।

Rabin photo