newa srijana

फोहोरलाई आम्दानीको स्रोत बनाउने लक्ष्यसहित पोखरामा आरयू फेस्ट

हरित रोजगारी सिर्जना र पुनःप्रयोग तथा पुनःप्रशोधनबाट उत्पादित सामग्रीको बजारीकरणमा जोड

पोखरा । फोहोरलाई आम्दानीको स्रोत बनाउने र हरित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले पोखरामा आरयू फेस्ट २०२६ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा मंसिर २ र ३ गते पोखरा इभेन्ट सेन्टरमा महोत्सव हुन लागेको हो।

‘रिथिंक २०२६ : फ्रम वेस्ट टु वर्थ’ नारासहित महोत्सवको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। पोखरा महानगरपालिकामा सञ्चालन भइरहेको रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत महोत्सव आयोजना गरिएको हो।

महोत्सवमा आरयू उद्यमीले उत्पादन गरेका सामग्री तथा नवीन अभ्यासको प्रदर्शनी गरिनेछ। विभिन्न स्टलमार्फत पुनःप्रशोधन र पुनःप्रयोगबाट तयार गरिएका सामग्री प्रदर्शन गरिनुका साथै दिगो फोहोर व्यवस्थापनका उपायबारे जानकारी दिइनेछ। चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणबारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि समेटिनेछन्।

सिटीजन फनिच्रर ..

महोत्सवले रिसाइकलर, अपसाइकलर, पर्यटन व्यवसायी, निजी क्षेत्र र सर्वसाधारणबीच सहकार्य बढाउनुका साथै पुनःप्रयोग र पुनःप्रशोधनमा आधारित उद्यमका उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार महोत्सवले आरयू उद्यमका उत्पादनको बजार पहुँच र दृश्यता बढाउन सहयोग पुग्नेछ।

विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसर प्रदान गर्नुका साथै आरयू उद्यमी र नवप्रवर्तक विद्यार्थीलाई लगानीसँग जोड्ने योजना रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए। उनका अनुसार पोखरामा ग्रीन भेन्चर जोनको अवधारणा अघि बढाउन पनि महोत्सवले सहयोग पुर्‍याउनेछ।

परियोजनाअन्तर्गत सन् २०२५ का प्रतिबद्धताअनुसार तीन हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। विस्तारित उत्पादकको दायित्वसम्बन्धी नियामकीय अनुगमन र संवादलाई पनि परियोजनाले प्राथमिकता दिएको छ। आरयू फेस्टलाई पोखराको वार्षिक कार्यक्रमका रूपमा विकास गरी हरित उद्यमशीलता र वातावरण संरक्षणको साझा मञ्च बनाउने आयोजकको लक्ष्य छ।

Byd