पोखरा । एसटी क्रियसनको आयोजनामा पोखरामा सम्पन्न ‘सातौँ लिटिल फेयरी २०२६’ को उपाधि प्रतियोगी नम्बर ९ की प्रनाक्क्षी बस्यालले जितेकी छन् ।
११ वर्षीया बस्याल गण्डकी बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत छन् । प्रतियोगिताका १४ फाइनलिस्टमध्ये उत्कृष्ट प्रदर्शन गर्दै उनले उपाधि जितेकी हुन् ।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले लिटिल फेयरी बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने माध्यम बनेको बताइन् । प्रतियोगीहरूको प्रस्तुति र प्रतिभाबाट आफू प्रभावित भएको बताउँदै उनले बालबालिकामा भविष्यका लागि प्रशस्त सम्भावना रहेको बताइन् ।
कार्यक्रमले नयाँ प्रतिभाको पहिचान र विकासमा भूमिका खेल्ने बताउँदै भण्डारीले बालबालिकाको आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र सकारात्मक भावनाको विकासका लागि अभिभावकले पनि आफ्ना सन्तानलाई यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् । प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकोमा उनले आयोजक एसटी क्रियसनलाई धन्यवाद दिइन् ।
प्रतियोगितामा सहभागीहरूले परिचय, प्रतिभा र प्रश्नोत्तर चरणमा आफ्नो क्षमता, आत्मविश्वास तथा व्यक्तित्व प्रस्तुत गरेका थिए ।

समूह ‘ए’ तर्फ नोराह गुरुङ र समूह ‘बी’ तर्फ उत्प्रेणा जोजिजू फर्स्ट रनरअप घोषित भए । त्यस्तै, समूह ‘ए’ बाट सुराध्या बस्नेत र समूह ‘बी’ बाट विधाता पराजुली सेकेन्ड रनरअप बने ।
भ्युअर्स च्वाइस अवार्ड समूह ‘ए’ तर्फ आराध्या भण्डारी र समूह ‘बी’ तर्फ एरिना सुनारले प्राप्त गरे ।
विजेता बस्यालले उपाधिसहित क्राउन, अवार्ड, गिफ्ट ह्याम्पर र १५ हजार रुपैयाँ नगद प्राप्त गरिन् । अन्य प्रतियोगीले पनि विभिन्न विधामा अवार्ड तथा पुरस्कार पाए ।
जीत हाम्रो इभेन्टका प्रबन्ध निर्देशक राजेश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चारकर्मी सुरज थापा र गीता रानाले सञ्चालन गरेका थिए ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एसटी क्रियसनले जनाएको छ ।




