पोखरा । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधि प्रेम तामाङले जितेका छन्। कुल ६० स्कोर जोड्दै ग्रस विजेता बनेका उनले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।
हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा मंसिर ५ र ६ गते प्रतियोगिता भएको थियो। डिभिजन ‘ए’ (१–९ ह्यान्डिक्याप) तर्फ प्रज्वल गुरुङ ६१ स्कोरसहित विजेता र ६० स्कोर जोडेका कवि थापा उपविजेता बने। डिभिजन ‘बी’ (१०–१४ ह्यान्डिक्याप) मा विश्वमान गुरुङ ६६ स्कोरसहित विजेता हुँदा एएसपी लिलाजंग गुरुङ ५३ स्कोरसहित उपविजेता बने।

त्यस्तै, डिभिजन ‘सी’ (१५–१८ ह्यान्डिक्याप) तर्फ एसी शेर्पा ६४ स्कोरसहित विजेता र सुवास घले ५२ स्कोरसहित उपविजेता भए। तीनवटै डिभिजनका विजेताले जनही २० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

महिलातर्फ बालकाशी गुरुङ ६५ स्कोरसहित विजेता र जानवी गुरुङ ६२ स्कोरसहित उपविजेता बनिन्। उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। ६० वर्षमाथिको सिनियर विधामा मेजर खिम गौचन ६४ स्कोरसहित विजेता बने। उनले १५ हजार रुपैयाँ र ट्रफी पाए।
व्यक्तिगत तथा विशेष विधातर्फ खुला लङ्गेस्ट ड्राइभमा उदिमकुमार राई र सिनियरतर्फ क्याप्टेन राजेन्द्र गौचन विजेता बने। नियर टु द पिन विधामा इन्द्रधारा विष्टले उपाधि जिते। होल नम्बर १८ मा दोस्रो सटमा बललाई ११ फिट १० इन्चको दूरीमा पुर्याउँदै एएसपी लिलाजंग गुरुङले विशेष पुरस्कार पाए। सोही होलमा ५ मिटर ९ सेन्टिमिटरको लङ पट प्रहार गर्दै मेजर जनरल सुदर्शन सिलवाल विजेता बने। विशेष विधाका पाँचै विजेताले जनही पाँच हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। होल नम्बर ४ मा राखिएको होल इन वनको पुरस्कार भने कसैले जित्न सकेनन्।
स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप फर्म्याटमा ३६ होलमा खेलाइएको प्रतियोगितामा अमेरिका, बेलायत र सिंगापुरमा रहेका नेपालीसहित देशका विभिन्न सहरका करिब ७० एमेच्योर गल्फर सहभागी थिए। पोखराको खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई नेप्लिज डायस्पोरा स्पोर्ट्स एन्ड कल्चर क्लब अमेरिकाले मुख्य प्रायोजन र गोर्खा ब्रुअरीले सहप्रायोजन गरेका थिए।
विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, नेप्लिज डायस्पोरा स्पोर्ट्स एन्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष तथा ओलम्पियन नारायण गुरुङ, टी एन्ड एस अमेरिकाका सञ्चालक शिव गुरुङ, वासिङ्टन स्टेटका कमिस्नर मोहन गुरुङ, एसी शेर्पालगायतले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा हिमालयन गल्फ कोर्सका व्यवस्थापक तथा हिमालयन स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टका अध्यक्ष भुवन गुरुङले प्रतियोगितामा सहयोग गर्नेहरूलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रम क्लबका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।




