काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार मुद्दा दर्ता गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् ।
लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
२ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।
काठमाडौं र कास्की जिल्ला अदालतबाट यसअघि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भइसकेको छ । रुपन्देहीबाहेक उनीविरुद्ध चितवन र पर्सामा मुद्दा दायर हुन बाँकी छ ।
चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । पर्सामा भने प्रहरी अनुसन्धान जारी छ ।