पोखरा । पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य मनोनीत भएका छन्। परिषद्को हालै सम्पन्न २६औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट हरि भुजेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि बाँकी रहेका पदाधिकारी र सदस्य मनोनयन गर्ने क्रममा आचार्यलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको हो।
परिषद्को विधानअनुसार अध्यक्षबाहेक प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारी नयाँ कार्यसमितिको बैठकले चयन गर्ने व्यवस्था छ। कार्यसमितिमा प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, महासचिवमा मिलन तिवारी, सचिवमा बाबुराम पाण्डे र सह–कोषाध्यक्षमा शोभाकुमारी अधिकारी (सापकोटा) चयन भइसकेका छन्। सदस्यहरूमा सुनिलबहादुर भट्टराई र जीवनराज सापकोटालगायत रहेका छन्।

आचार्य लामो समयदेखि पोखरा र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सक्रिय छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका सदस्य पनि हुन्।
कार्यसमिति पूर्ण भएसँगै पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र आर्थिक मन्दीले प्रभावित पर्यटन व्यवसायलाई चलायमान बनाउन नयाँ रणनीतिसहित अघि बढ्ने परिषद्ले जनाएको छ।




