पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।
पहिला दुई सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । १२–७ को एपीएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को जित निकालेको थियो । तेस्रो र चौँथो सेटमा पुनरागमन गर्दै एपीएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपीएफले तेस्रो सेट २५–१९ र चौँथो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो ।
आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।