GIF TIGER CUP

काम सक्न ठेकेदारको आलटाल, फिल्डमै पुगे मन्त्री

ढिला भएका दुई योजनाको अनुगमन, चाडो सक्न निर्माण व्यवसायीलाई निर्देशन

दुलेगौंडा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन् ।

लामो समयदेखि निर्माणमा ढिलाइ भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौंडा हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदिमाथि निर्मित मोटरेबल पुलको बुधबार अनुगमन गरेका हुन् । सो अवसरमा मन्त्री केसीले निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

गण्डकी प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री किरण गुरुङ, मन्त्रालयका सचिव कमलकुमार अधिकारीसहित पुगेका उनले सरकारको तर्फबाट कुनै समस्या भए सहजीकरण गर्न तयार रहेको बताए । उनले तत्काल कामदार बढाएर प्रगति बढाउन आग्रह गरे ।

GIF TIGER CUP

वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्रका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भई २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको थियो । २०७८ माघ १० गते भित्र सम्पन्न हुनुपर्ने सडक पटकपटक म्याद थप गरिएको छ । आगामी असारसम्म म्याद रहेको उक्त खण्डको प्रगति हालसम्म ४१ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीले बताए । उक्त खण्ड कालोपत्रका लागि एम.एस शंकरमाली निर्माण सेवाले रु २५ करोड १० लाख ६० हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको हो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको हो ।

ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नहुदा स्थानीवासीले चुनावको बेला मात्र सडकको विषय बनाउने गरेको भन्दै टिप्पणी गर्ने गरेका छन् । स्थानीय एवम् दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराए । निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको कामले गति नलिएको भन्दै उपभोक्ता समितिले मन्त्री केसीले ध्यानाकर्षण गराए । सुरुको सम्पन्न गर्नुपर्ने मिति गत वर्षको जेठ २० गते भएकोमा २०८२ मंसिर २० सम्म म्याद थप भएको छ । कामको प्रगति करिव ३० प्रतिशत मात्र छ । २०७७ मंसिर २४ मा मुल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयामा पुल निर्माणकालागि महाविर खिम्ती अञ्जना पराजुली जेभीले सम्झौता गरेको हो । टायल फाउण्डेसनमा निर्माण हुने पुल १ सय ५०.४ मिटर लामो रहने छ । ४ वटा स्पानमध्य हाल एक स्पान मात्र ढलान भएको छ ।

निर्माण कम्पनीलाई हालसम्म ८ करोड १३ लाख भुक्तानी भइसकेको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीले कार्यालयकोतर्फबाट काम गर्न कुनै समस्या नरहेको प्रष्ट पारे ।
उनका अनुसार वडा नंं. ८ तर्फ ३ वटासम्म स्पान थप भएमा ४०.२५ प्रतिशत अर्थात ६ करोड २७ लाख रुपैया बजेट थप गर्नुपर्ने देखिएको छ । स्थानीय बाबुराम कार्कीले पुल निर्माणको कामले गति नलिदा वडा नं. ८ तर्फ कटान बढ्दै गएको बताए । उनले स्थानीय स्तरबाट निर्माण व्यवसायीलाई सबै सहयोग गर्दै आएपनि कामले गति लिन नसकेको उल्लेख गरे ।

मन्त्री केसीले मन्त्रालय अन्तर्गतका लामो समयसम्म सम्पन्न नभएका समस्याग्रत योजनालाई आफूले चाडै सम्पन्न गर्नतर्फ केन्द्रित गरेको बताए । समयमै विकास निर्माणका योजना सम्पन्न नहुदा जनताले दुःख पाउने गरेको बताउँदै सुरु भएका योजनालाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता उनले जनाए ।

Leave A Reply

Your email address will not be published.