पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका थिए ।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका छन् । ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर विभिन्न सेवाका कर्मचारी राख्ने गरी अध्यादेश ल्याइएको थियो ।
सोमबारको बैठकमा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । कांग्रेसबाट निर्वाचित समानुपातिक सदस्य गौचनको गत कार्तिक २९ गते निधन भएको थियो ।
शोक प्रस्ताव पारित भएपछि एक मिनेट मौन धारण गरेर बैठक माघ ३० गतेसम्म स्थगित भएको छ ।
दोभासेकाे व्यवस्था
गण्डकी प्रदेश सभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य सुनीता थापाको सहजताका लागि सचिवालयले दोभासेको व्यवस्था गरेको हो ।
प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण उनकै सहजताका लागि प्रदेश सभा सचिवालयले ज्यालादारीमा दोभासे राखेको हो ।
समानुपातिक सदस्यमा मनोनीत थापा सोमबार पहिलोपटक प्रदेश सभाको बैठकमा उपस्थित भएकी हुन् ।