बाजुरा । बाजुराबाट विद्यार्थी बोकेर पोखरा आउँदै गरेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । बाजुराबाट कर्णाली राजमार्ग भएर सुर्खेत हुँदै पोखरा भ्रमणमा हिँडेको बस आइतबार साँझ दुर्घटनमा परेको हो ।
सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्गको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको जनाइएको छ । बाजुराको भानुदय विद्यालयका २६ जना विद्यार्थी बोकेर बस पोखरा भ्रमणमा हिँडेको थियो । दुर्घटनामा परी २६ जना विद्यार्थीमध्ये २ जना विद्यार्थी घाइते भएका छन् ।
प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् ।उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्यायको छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
