GIF TIGER CUP

गण्डकी ‘वेलनेस टुरिजम’को सम्भावना बोकेको ठाउँ : मुख्यमन्त्री पाण्डे

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको सम्भावना बोकेको ठाउँ हो,’ शनिबारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको शुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको विकासका लागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’

वेलनेस टुरिजम भनेको ध्यान र कल्याणसँग सम्बन्धित पर्यटन हो ।

यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जीवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घरघरमा स्वजागरण गराउने लक्ष्यसहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमार्फत कार्यक्रम कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

GIF TIGER CUP

धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरु, हिमाल, तालहरु, शाहसीक खेलको ठूलो संभावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा बिकास गर्न स्थानीय, प्रदेश र संघ सरकार बीच सहकार्य आवश्यक पर्ने उनले बताए । ‘हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो’ उनले भने ‘सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई उर्जा जगाउने एउटा माध्याम बन्नेछ ।’

हरेक क्षेत्र जस्तै राजनीतिक जीवनमापनि साधना उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘देशको राजनीतिक परिदृष्यलाई हेर्ने हो भने नागरिकहरुको बढ्दो नकरात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा हामीले राजनीतिक साधना गर्नु जरुरी र आवश्यक छ,’ उनले भने ।

स्वजागरण भनेको केवल बाहिरी उपलब्धिहरुमा मात्र सिमित नहुने मुख्यमन्त्री पाण्डेले बताए । ‘यो आन्तरिक शुद्धता, सकारात्मक सोच, र दिगो लक्ष्य प्राप्तीको आधार हो’ मुख्यमन्त्री पाण्डेले भने ‘जब व्यक्ति स्वयम् सचेत हुन्छ, आत्मबोध गर्छ, तब समाज, प्रदेश र राष्ट्र नै समृद्ध बन्न सक्छ ।’

गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गरेका थिए । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको गण्डकी स्वजागरण अभियानमा आइतबारदेखि एक साता विराट चक्र विज्ञान’ को अभ्यास हुनेछ ।

Leave A Reply

Your email address will not be published.